रामेछाप । रामेछाप सदरमुकाम मन्थलीबाट वडा नं ८ चिसापानी र वडा नं ९ पुरानागाउँ जोड्ने सडक लामो समयदेखि लथालिङ्ग अवस्थामा छ । सडक कालोपत्रे ठेक्का लिएको कान्छाराम कन्स्ट्रक्सनको लापरबाहीको कारण मन्थली–चिसापानी–पुरानागाउँ सडक लथालिङ्ग बनेको हो । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत मन्थली नगरपालिका–८ को जखनीटारदेखि मन्थली नगरपालिका–९ पुरानागाउँ जोडिने कूल ७.३६ किलोमिटर सडकको नाला तथा ग्याभिन सहित कालोपत्रे गर्ने ठेक्का कान्छाराम कन्स्ट्रक्सनले पाएको थियो ।
यो सडक कालोपत्रेको काम २०७८ पुस २५ गते सम्पन्न गर्ने गरी सो कम्पनीले २०७७ साल असार २६ गते ठेक्का सम्झौता गरेको थियो । तर काम सम्पन्न हुनुपर्ने समय भन्दा एक वर्ष बढी समय बितिसक्दा पनि सडक बढाएर ठाउँ ठाउँमा ग्याभिन, वाल र नाला मात्रै बनाएर निर्माण कम्पनीले यो सडक लथालिङ्ग अवस्थामा छाडिदिएको छ । लामो समयदेखि लथालिङ्ग अवस्थामा छोडिएको मन्थली–चिसापानी–पुरानागाउँ सडकमा आफूहरू जोखिम पूर्ण यात्रा गर्न बाध्य रहेको मन्थली नगरपालिका–९ पुरानागाउँका गौतम आरणले बताउनुभयो ।
२०७८ सालको पुसमै कालोपत्रे भइसक्नुपर्ने सडकमा अहिले धुलो र ढुङ्गा बाहेक केही नभएको र यस्तो बाटोमा सवारी चलाउन जोखिमयुक्त रहेको उहाँले बताउनुभयो ।
पटक पटक ताकेता गर्दा पनि सडक कालोपत्रेको काम सम्पन्न गर्नुपर्छ भन्नेमा निर्माण कम्पनी गम्भीर नदेखिएको मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘जति ताकेता गर्दा पनि हाम्रो कुरा सुनिएन, अहिले वडा समितिबाट निर्णय गराएर पूर्वाधार कार्यालयसँग सडकको काम सक्नुपर्ने सयम, काममा ढिलाइ हुनको कारणहरू र सम्झौता भएको समय माग गरेका छौँ ।’’ सडक कालोपत्रेको काम सम्पन्न गराउनका लागि धेरै ताकेता गरिएको भए पनि निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम नगरेको मन्थली नगरपालिका प्रमुख लवकुमार श्रेष्ठले बताउनुभयो ।
‘सडकका काम छिटो सक्न धेरै पटक छलफल गरियो सुनुवाइ भएन, निर्वाचनपछि तत्काल काम सुरु गर्ने प्रतिबद्धता भएको थियो तर अझै काम सुरु गरेको छैन’, उहाँले भन्नुभयो । कोरोना भाइरस लगायतका कारण यो सडक कालोपत्रे गर्ने समय २०७९ असारसम्म थप भएको र अबको केही दिनमै काम सुरु गरी २०७९ चैतसम्म काम सम्पन्न गरिने कान्छाराम कन्स्ट्रक्सनका विनोद बुढाथोकीले बताउनुभयो । ‘सडकमा ग्याभिन, वाल, नाला बनाउने काम लगभग सकिएको छ, अब केही दिनमा बेस हाल्ने काम सुरु हुन्छ’, उहाँले भन्नुभयो । यो सडक २०७८ पुस २५ कालोपत्रे सम्पन्न गर्ने गरी बागमती प्रदेशको कूल १७ करोड ८८ लाख ६१ हजार ८ सय ८० रुपियाँमा बजेटमा कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पाएको थियो ।
रामेछापको मन्थली–चिसापानी–पुरानागाउँ सडक कालोपत्रेको काम अलपत्र
- प्रकाशित मिति: मंगलबार, पुष ५ २०७९
- तामाकोशी