हाजिर नै नगरी तलब खान्छन् खाँडादेवी गाउँपालिकाका कर्मचारी

  • प्रकाशित मिति: शुक्रबार, पुष १ २०७९
  • तामाकोशी

रामेछाप । हरेक दिन अर्काको काम गरेर आफ्नो ज्याला बुझ्ने कामदारले पनि आफूले काम गरेको हाजिरी नगरी घर फर्किँदैनन् । तर रामेछापको खाँडादेवी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख लगायतका कर्मचारी भने स्वयं हाजिर नै नगरी लामो समयदेखि तलब भत्ता बुझिरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने, स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश श्रेष्ठ र स्वास्थ्य शाखाका सिनियियर अनमी वसुन्धरा सुवेदीले विगत लामो समयदेखि कार्यालयको रजिस्टरमा हाजिर नै नगरी तलब भक्ता लिइरहेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत लामिछानेले २०७९ को असोज महिनाको हाजिर रजिस्टारमा ६ गतेसम्म बजार अनुगमन उल्लेख गर्नुभएको छ भने अन्य दिन केही नखुलाई असोज ३० गते मात्रै हाजिर गर्नुभएको छ । लामिछानेले त्यसपछि कार्तिक महिनामा ३ गते हाजिर गरे पनि त्यसपछिका दिनमा उहाँले हाजिर गर्नुभएको छैन । स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश श्रेष्ठले २०७९ वैशाख महिनादेखि असार महिनासम्म नियमित हाजिर गरे पनि साउन महिनाको १ र २ गते हाजिर गरेदेखि अहिलेसम्म हाजिर गर्नुभएको छैन ।
गाउँपालिकाको स्वास्थ्य शाखामा सिनियियर अनमी पदमा कार्यरत वसुन्धरा सुवेदीले हाजिरमा केही कारण नखुलाई २०७९ को भदौ महिनादेखि अहिलेसम्म एक दिन पनि हाजिर गर्नुभएको छैन । नियमित हाजिर नभए पनि सबै कर्मचारीलाई गाउँपालिकाले २०७९ असोज महिनासम्मको तलब भक्ता दिइसकेको छ ।
कार्यालयको प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखले आफ्नो जिम्मेवारीमा रहेर नियमित काम गरिरहेको देखिए पनि हाजिर रजिस्टारमा आफ्नो हाजिर नगरेको पाइएको खाँडादेवी गाउँपालिकाका लेखा अधिकृत विजय लुइँटेलले बताउनुभयो । ‘हाजिर रजिस्टारमा हाजिर नगर्नु भनेको कार्यालयमा अनुपस्थित हुनु हो, तर हाजिर नगरे पनि उहाँहरूले कार्यालयमा नियमित काम गरिरहनुभएको छ, तलब पनि खाइरहनुभएको छ, अब हाजिर नगर्नुको कारण सहितको स्पष्टीकरण माग हुन्छ’, उहाँले भन्नुभयो । स्वास्थ्य शाखामा सिनियर अनमी पदमा कार्यरत वसुन्धरा सुवेदी भने स्वास्थ्य समस्याका कारण बिदामा रहेको भन्ने जानकारी रहेको उहाँले बताउनुभयो ।
आफूहरू नियमित कार्यालयमा उपस्थित भएको तर हाजिर गर्न छुटेको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘खाँडादेवी गाउँपालिकाको स्वास्थ्य शाखामा कर्मचारी नभएर सेवाग्राहीको काम रोकिएको अवस्था अहिलेसम्म छैन । आफुसँग भ्रमण अभिलेखीकरण पनि छ, नियमित काम पनि गरिरहेकै हो, हाजिर गर्न भने छुटेको हो, अब कार्यालय प्रमुखले के भन्नु हुन्छ त्यही अनुसार हुन्छ ।’’ प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने भने प्रशासन फाँटका कर्मचारीलाई दोष देखाउँदै पन्छिन खोज्नुभएको छ । ‘हाजिर बाहेक दर्ता, चलानी, तोक लगाउने, योजना सम्झौता, अनुगमन, निर्वाचनमा खटिएको पाटोहरू पनि छन्, यसबारेमा प्रशासन शाखाले आवश्यक समन्वय नगरिदिँदा यो समस्या आएको हो’,उहाँले भन्नुभयो । आफूहरुले कामलाई प्राथमिकतामा राख्दा हाजिर गौण बन्न पुगेको लामिछानेको भनाई छ ।
हाजिरी प्रमाणित नगरी तलब भक्ता भुक्तानी भएमा त्यो अनियमितता हुने भएकाले यस विषयमा गाउँपालिकाले आवश्यक छानबिन गर्ने र कारवाहीको प्रक्रिया अगाडी बढाउने खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । कार्यालयमा राखिएको हाजिरी रजिस्टारमा कर्मचारीले हाजिर नगर्नु भनेको कार्यालयमा उपस्थित नहुनु भन्ने बुझिन्छ । कार्यालय समयमा चौरमा घाम तापेर बस्न फुर्सद हुने कर्मचारी हाजिर गर्न समेत भ्याउँदैनन् । सबै कमैचारीहरुको हाजिर प्रमाणित गरेर तलब खवाउनुपर्ने प्रमुख प्रशासकीय अधिकृतले नै हाजिर नगरी तलब खानुले खाँडादेवी गाउँपालिकाको पारदर्शिता र सुशासन समेत प्रश्न उठेको छ ।