नविन श्रेष्ठ
रामेछाप। मानव अधिकार सबैको साझा सरोकारको विषय भएकोमा रामेछापका सरोकारवालाले जोड दिएका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शनिबार मन्थलीमा आयोजित कार्यक्रमका सहभागीले मानव अधिकार संरक्षण, संवर्द्धन र प्रवर्धनको मुख्य जिम्मेवारी राज्यको भए पनि त्यसमा सबै क्षेत्रको समान भूमिका हुने बताउनुभयो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियानको समापन, अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा रामेछापको सन् २०२२ को मानव अधिकार अवस्था समीक्षा गर्न आयोजना गरिएको सो कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले मानव अधिकारलाई सार्थक बनाउन यो विषयलाई हरेक परिवार र घरसँग जोड्नु पर्ने बताउनुभयो ।
मानव अधिकार उल्लङ्घनका घटना बुझेकै मान्छेबाट भइरहेकोले त्यसलाई रोक्न समस्या हुने गरेको उहाँले बताउनुभयो । मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले लैङ्गिक हिंसा न्यूनीकरण तथा मानव अधिकार संरक्षणको लागि निरन्तर कार्यक्रम सञ्चालन भइरहेका भए पनि सोचे जस्तो प्रगति हुन नसकेको बताउनुभयो ।
यस विषयमा वृहत् समीक्षा जरुरी रहेको उहाँले बताउनुभयो । जिल्ला न्यायाधिवक्ता योगेन्द्रप्रसाद ढुङ्गेलले न्यााधिवक्ताको कार्यालयमा आएका मुद्दा मध्ये आधाभन्दा बढी महिला हिंसाका घटना नै भएको बनाउनुभयो । त्यसमा पनि बलात्कार, बलात्कारको प्रयास र यौन दुर्व्यवहारका मुद्दा भएको उहाँले बताउनुभयो । यस आर्थिक वर्षमा बलात्कार, बलात्कारको प्रयास तथा यौन दुर्व्यवहारका सात वटा, बहुविवाह र बाल विवाहका २ वटा, अभद्र व्यवहारका १० वटा लगायत ३४ वटा मुद्दा आएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालय सक्षम भए पनि आत्महत्याका घटना अझै नरोकिएको बताउनुभयो । यसको लागि सचेतना र काउनसिलिङका कार्यक्रम जरुरी रहेको उहाँले बताउनुभयो । थिङले प्रविधिको विकाससँगै अपराधका प्रकृति पनि फेरिँदै गएका बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय रामेछापकी प्रशासकीय अधिकृत सुनिता थापाले आर्थिक, सामाजिक, लैङ्गिक तथा पारिवारिक विभेदका कारण आत्महत्याका घटना बढ्दै गएको बताउँदै यसको न्यूनीकरणको लागि सचेतना नै मुख्य साधन हुने बताउनुभयो । जिल्ला प्रशासन कार्यालयको तर्फबाट मानव अधिकार र नागरिकका अन्य अधिकार संरक्षणको लागि निरन्तर काम भइरहेको र यसमा कमी हुन नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । रामेछापका बारका अध्यक्ष विचारसिंह दोङले उमेर नपुगी विवाह गरेर जन्माएका बच्चाको नागरिकता प्राप्तिमा समस्या देखिएकोले त्यसलाई सहज बनाउनु पर्ने सुझाव दिनुभयो ।
गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्न कँडेलले ज्येष्ठ नागरिकको अधिकार र खाद्य सुरक्षाको अधिकारका विषयमा थप गम्भीर हुन जरुरी रहेको बताउनुभयो । यी विषयलाई सघन रूपमा उठाउन पर्नेमा कँडेलले जोड दिनुभयो । इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले रामेछापमा यस वर्ष हालसम्म इन्सेकले २५ वटा मानव अधिकार उल्लङ्घनका घटना अभिलेखीकरण गरेको बतउनुभयो । जसमा बलात्कारका १० वटा, यौनजन्य दुर्व्यवहारका तीन वटा, जातीय विभेदको एउटा, बोक्सीको आरोपमा हत्या तथा कुटपिटको एउटा र बाँकी राजनीतिक अधिकारसँग जोडिएका घटना भएका उहाँले बताउनुभयो ।