रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाको वडा वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । गाउँपालिकाले वडा तहमा जनरल ओपिडी, आँखाको मोतियाविन्दु, स्त्रीरोग परीक्षण, सुगर जाँच र शङ्कास्पद क्षयरोगीको नमुना सङ्कलन लगायतको सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । मङ्सिर १७ गतेदेखि सुरु भएको यो अभियान अन्तर्गत अहिलेसम्म वडा नं १, २, ३, ४, ५,६ र ९ नं वडामा स्वास्थ्य शिविर सम्पन्न भएको खाँडादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । यो अभियान अन्तर्गत अहिलेसम्म ७०० बढी नागरिकले सेवा लिएको उहाँले बताउनुभयो । उहाँका अनुसार वडा नं १ राकाथुममा १२८ जना, वडा नं २ मझुवामा ११७, वडा नं ३ भिरपानीमा ८८ जना, वडा नं ४ मा ८७ जना र वडा नं ९ पिङखुरीमा १२८ जनाले सेवा लिएका छन् । शिविरबाट जनरल ओपिडी, आँखाको मोतियाविन्दु,स्त्रीरोग सेवा, शङ्कास्पद क्षयरोगीको नमुना र सुगर जाँच सम्बन्धी सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले यो अभियान मङ्सिर २६ गतेसम्म गाउँपालिकाको सबै वडामा सञ्चालन गर्नेछ ।
खाँडादेवी गाउँपालिकाको वडा वडामा निःशुल्क स्वास्थ्य शिविर
- प्रकाशित मिति: शनिबार, मंसिर २४ २०७९
- तामाकोशी