रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले बिरुवाको जन्म दर्ता अभियान सुरु गरेको छ । गाउँपालिकाले कृषकलाई फलफूल खेतीमा आकर्षित गराउन र हरियाली बढाउन यस्तो अभियान सुरु गरेको हो । स्थानीय सरकारले सुरु गरेको यो अभियान नयाँ अभियान हो ।सो अभियानमा सहभागी हुने किसानले आफ्नो बगैँचामा फलफूल वा अन्य बिरुवा हुर्काउनुको साथै त्यस बापत अनुदान समेत पाउने छन् । बिरुवा रोपेपछि त्यसको जन्म दर्ता र तीन वर्षमा व्रतबन्ध गर्ने अभियान गाउँपालिकाले ल्याएको सो गाउँपालिकाको वडा नं २ का अध्यक्ष केशव प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘किसानले बिरुवा रोपेर जन्म दर्ता गराएपछि त्यसको व्रतबन्ध नगरेसम्म वार्षिक एक सय रुपैँया अनुदान पाउँछ । तीन वर्षमा उसले तीन सय रुपैँया अनुदान पाउँछ ।’’ तीन वर्षमा तीन सय रुपैँया पनि पाउने र तीन वर्ष पछि उसले रोपेको बिरुवाले फल पनि दिन सुरु गर्ने भएकाले त्यस पछि ऊ आफैँ बिरुवाको संरक्षणमा लाग्ने भएकोले यो अभियान अघि सारिएको उहाँले बताउनुभयो । बजारको माग अनुसारको फल दिने बिरुवा लगाउने हो भने पैसै पैसा कमाउन सकिने उहाँले बताउनुभयो । अब बजार हेरेर ठुलो मात्रामा कृषि उत्पान गर्नेगरी लाग्नुपर्ने उहाँले बताउनुभयो । बजारको माग अनुसार ठुलो मात्रामा उत्पादन गरिएको कृषि उत्पादनलाई बजारको समस्या छैन, यही कुरालाई ध्यानमा राखेर कृषि क्षेत्रमा बजेट तथा कार्यक्रम बनाएका छौँ उहाँले भन्नुभयो । आफ्नो बारीको एउटा बोट बुद्ध चित्तको फल एक लाख रुपैँयामा बेचेको बताउँदै उहाँले अब हरियाली बढाउने र किसानको आर्थिक वृद्धि गर्ने खालका फलफूल जन्य खेतीमा वडा तथा गाउँपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो ।
खाँडादेवी गाउँपालिकामा बिरुवाको जन्म दर्ता अभियान
- प्रकाशित मिति: शुक्रबार, मंसिर २३ २०७९
- तामाकोशी