चमेली विक
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले सेवाग्राहीलाई निःशुल्क राहदानी फर्म भर्ने व्यवस्था गरेको छ । सेवाग्राहीको सुविधाको लागि पहिलो पटक प्रशासन कार्यालयभित्रै छुट्टै कक्ष र कर्मचारीको व्यवस्था गरी निःशुल्क फर्म भर्ने व्यवस्था गरेको हो । बाहिर फर्म भर्दा गलत विवरण प्रविष्ट हुँदा नागरिकहरूले धेरै समस्या भोग्नुपरेको र शुल्क तिर्नुपर्ने सेवाग्राहीको समस्याहरूलाई ध्यानमा राखी प्रशासन कार्यालयभित्रै निःशुल्क फर्म भर्ने व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताउनुभयो । बाहिर फर्म भर्दा गलत विवरण प्रविष्ट हुँदा धेरै नागरिकको विभिन्न समस्या भोग्नुपरेको गुनासाहरू कार्यालयमा आएकाले प्रशासनले यो सेवा सुचारु गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयमा यो सेवा आइतबारबाट सुरु भएको हो । जिल्ला प्रशासन कार्यालयले निःशुल्क फर्म भरिदिने व्यवस्था गरेपछि सेवाग्राही पनि खुसी भएका छन् । बाहिर फर्म भर्दा चर्को शुल्क तिर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालयभित्रै निःशुल्क फर्म भर्न पाउँदा खुसी लागेको सेवाग्राहीहरूको भनाइ छ । जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार अहिले दैनिक ५० जना सेवाग्राहीले यो सेवा लिइरहेका छन् । सेवाग्राहीको थप सहजताको लागि आवश्यकताका आधारमा निःशुल्क राहदानी फर्म भर्न थप कक्ष र कर्मचारीको व्यवस्था गर्ने तयारी गरेको छ ।