शैक्षिक अवस्था बुझ्न मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ कक्षा कोठामा

  • प्रकाशित मिति: बुधबार, मंसिर २१ २०७९
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । बालबालिकालाई उपयुक्त शिक्षा दिन, समाज परिवर्तन गर्न, चेतना फैलाउन, योग्य जनशक्ति उत्पादन गर्नका लागि शिक्षा क्षेत्रको सुधार आवश्यक रहेको भन्दै नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । नगरपालिकाले प्राथमिकतामा राखेको शिक्षा क्षेत्रको सुधार गर्ने अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नगरपालिका प्रमुख लव श्रेष्ठ नेतृत्वको टोली नगरभित्रका विभिन्न विद्यालयहरूको स्थलगत निरीक्षणमा जुटेको छ । नगर प्रमुख नेतृत्वको टोलीले मन्थली नगरपालिका–६, ११ र १२ नं वडामा रहेको विभिन्न विद्यालयको स्थलगत निरीक्षण गरी विद्यार्थी र शिक्षकसँग पठनपाठन सुधारका बारेमा आवश्यक छलफल गरेको छ । टोलीले मन्थली नगरपालिका–६ भलुवाजोरमा रहेको श्री भीमेश्वर आधारभूत विद्यालय, वडा नं ११ मा रहेको श्री मनकामना माध्यमिक विद्यालय र वडा नं १२ मा रहेको शारदा माध्यमिक विद्यालयको स्थलगत निरीक्षण गरेको छ । टोलीले विद्यालयले सिकाइ सुधारका लागि गरेका प्रयासहरू, विद्यालयको भौतिक संरचनाको अवस्था, खानेपानी, शिक्षक व्यवस्थापन लगायतका बारेमा छलफल गरी आवश्यक निर्देशन पनि दिएको छ । संविधानले सुम्पिएको अधिकार प्रयोग गर्दै शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरी स्थानीय तहमा सकारात्मक परिवर्तन ल्याउने गरी नगरपालिकाले काम गर्ने मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो ।
‘स्थानीय तहको शिक्षा सुधारका लागि सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर योजना निर्माण, कार्यान्वयन, प्रभावकारी अनुगमन, शिशु शिक्षा, स्थानीय पाठ्यक्रम कार्यान्वयन, सबै बालबालिकालाई विद्यालय भर्ना, पछाडि परेको समुदायका बालबालिकालाई प्राथमिकतामा राखी सहयोग गर्ने लगायतका योजना बनाएर नगरपालिका अगाडी बढी रहेको छ’, उहाँले भन्नुभयो । अहिले विद्यालयमा शिक्षकहरूको नियमितता, आफ्ना विद्यार्थी र विद्यालयप्रति अभिभावकहरूको चासो, सिकाइ सुधारका लागि भएका विद्यालयमा भएको प्रयास र प्रभावकारिता, विद्यालयको न्यूनतम आधारभूत आवश्यकभित्र पर्ने पूर्वाधार व्यवस्थापन लगायतका टोलीले निरीक्षण गर्ने काम गरिरहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । स्थानीय तहको विकासका लागि सबै भन्दा पहिला सामुदायिक विद्यालयहरूको पठन पाठनमा सुधार गर्न आवश्यक रहेकाले सामुदायिक विद्यालयहरूलाई पनि निजी विद्यालयसँग सबै कुरामा प्रतिस्पर्धा गर्न सक्ने बनाउन आफूहरू लागि परेको उहाँले बताउनुभयो ।