साढे ४ महिनामा मन्थली नगरपालिकाको पुँजीगत खर्च ८.३ प्रतिशत

  • प्रकाशित मिति: शुक्रबार, मंसिर १६ २०७९
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम मन्थली समेत रहेको मन्थली नगरपालिकाले अहिलेसम्म १७.१४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । नगरपालिकाले नगरपालिकाले साढे ४ महिनाको अवधिमा जम्मा एक अर्ब १३ करोड ५ लाख ४३ हजार ३४ रुपियाँ बजेटको १७.१४ प्रतिशत अर्थात् १९ करोड ३७ लाख ९० हजार ९१८ रुपियाँ बजेट खर्च गरेको हो । शुक्रवार नगरपालिकाको ९ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लवकुमार श्रेष्ठले यसबारेमा जानकारी दिनुभएको हो । नगरपालिका प्रमुख श्रेष्ठले मङ्सिर १४ गतेसम्म चालु तर्फ ७५ करोड ५५ खाल ६९ हजार बजेट रहेकोमा २१.५१ प्रतिशत अर्थात् १६ करोड २५ खाल ८१ हजार ८८८ रुपियाँ बजेट खर्च भएको बताउनुभयो । त्यसै गरी पुँजीगत तर्फ ३७ करोड ४९ लाख ७४ हजार ३४ रुपियाँ बजेट रहेकोमा ८.३ प्रतिशत अर्थात् ३ करोड १२ लाख ९ हजार ३० रुपियाँ बजेट खर्च भएको बताउनुभयो । नगरपालिका प्रमुख श्रेष्ठले चालु आर्थिक वर्षको हालसम्म नगरपालिकामा ४५ वटा योजनाको सम्झौता भएको र ११ वटाको काम सम्पन्न भई भुक्तानी समेत भैसकेको बताउनुभयो । नगरपालिका प्रमुख श्रेष्ठले चालु आर्थिक वर्षमा नगरपालिकाले ४ करोड ६३ लाख रुपियाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म लक्ष्यको १९.७८ प्रतिशत अर्थात् ९१ लाख ५८ हजार ९३२ रुपियाँ आम्दानी गरेको बताउनुभयो । नगरको सुदृढ अर्थतन्त्र र सक्षम जनशक्ति निर्माण, व्यवस्थित, दिगो, सन्तुलित, समावेशी जनमुखी र सामाजिक न्यायमा आधारित प्रभावकारी सेवा प्रवाह र सुशासन कायम गरी समृद्ध मन्थली नगर बनाउने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको छ नगरप्रमुख श्रेष्ठले भन्नुभयो । नगरप्रमुख श्रेष्ठले कृषि क्षेत्रको विकासका लागि एक वडा एक उत्पादन कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाइने बताउनुभयो ।