मन्थली नगरपालिकाको एक विद्यालय : जहाँ पढाउन भन्दा पनि विद्यार्थी जोगाउनै चुनौती

  • प्रकाशित मिति: सोमबार, मंसिर १२ २०७९
  • तामाकोशी

रामेछाप । सुरक्षित र सुन्दर भवन, बालमैत्री कक्षा कोठाहरू, चुस्त दुरुस्त प्रशासनिक तथा व्यवस्थापकीय कक्षहरू, बालमैत्री एवम् छात्रामैत्री शौचालय, सिर्जनात्मक अभ्यास कक्ष, इण्डोर र आउटडोर खेल मैदानहरू हरेक विद्यालयको न्यूनतम आधारभूत आवश्यकताहरू हुन् । तर रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरमा रहेको श्री भीमेश्वर आधारभूत विद्यालयलाई यी कुनै पनि आवश्यकताहरू पुग्न सकेको छैन । मन्थली नगरपालिका–६ भलुवाजोर स्थित डाँडा खर्कमा रहेको यो विद्यालयमा कक्षा एक देखि कक्षा ३ सम्म पढाई हुन्छ । यो विद्यालयसँग ३४ जना विद्यार्थी पढिरहेको तथ्याङ्क छ भए पनि नियमित पढ्न विद्यालय आउने विद्यार्थीको सङ्ख्या खासै छैन । यो विद्यालय भौगोलिक रूपमा निकै अप्ठेरो ठाउँमा रहेको छ । डाँडा खर्क गाउँकै अप्ठेरो भिरमा रहेको यो विद्यालयमा विद्यार्थीहरूलाई पढ्नु भन्दा पनि जोगिनु र शिक्षकहरूलाई विद्यार्थीलाई पढाउनु भन्दा जोगाउनु ठुला चुनौती बनेको छ ।
यो विद्यालयमा विद्यार्थीलाई खेल्ने चौर त परकै कुरा विद्यार्थीलाई नियमित लाइन राख्ने समेत ठाउँ छैन । कक्षा कोठाको ढोकाबाट निस्कँदा विद्यार्थी सामान्य हुत्तियो मात्रै भने पनि सिँधै भिरबाट खस्ने र ठुलो दुर्घटना हुनसक्ने जोखिम छ । यस्तो ठाउँमा रहेको विद्यालयमा सामान्य घेरा बार समेत गरिएको छैन । विद्यार्थी लड्ने डरले बालबालिकाहरूलाई दिनभरि कक्षामा थुनेर पढाउने यहाँका शिक्षकहरूको दैनिकी बनेको छ । यहाँका शिक्षकहरूलाई पढाउने चिन्ताले भन्दा पनि विद्यालय आएका विद्यार्थीलाई कसरी सकुशल घर पठाउन सकिन्छ भन्ने चिन्ताले सताउँछ । ३४ जना विद्यार्थी र तीन जना शिक्षक रहेको यो विद्यालयमा खानेपानी र शौचालयको पनि समस्या छ । विद्यालय नजिकै शौचालय निर्माण गरिएको छ तर प्रयोगमा आएको छैन । शौचालयमा ताला लगाइएको छ । खानेपानीको धारा बनेका छन् तर पानी आउँदैन ।
विद्यालय भौगोलिक रूपमा निकै जटिलतायुक्त ठाउँमा बन्नु नै यहाँको मुख्य समस्या रहेको विद्यालयकी शिक्षिका लक्ष्मी सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘डरलाग्दो भिरमा विद्यालय छ, सामान्य घेरा बार पनि छैन, विद्यार्थीलाई पढाउनु भन्दा पनि लड्छन् की भन्ने चिन्ता बढी छ ।’’ अप्ठेरो भिरमा विद्यालय भएकै कारण सामान्य खेल्ने चौर पनि नभएकाले विद्यार्थीहरू कक्षा कोठामै खेल्न, खाजा खान बाध्य रहेको उहाँले सुनाउनुभयो । ‘नगरपालिका त्यसमा पनि जिल्ला सदरमुकाम मन्थली नजिकै रहेको विद्यालयको यस्तो हालत देख्दा दुःख लाग्छ, अब दुःख लागेर पनि के गर्नु जसो तसो पढाएकै छौँ’, उहाँले भन्नुभयो । मन्थली नगरपालिका प्रमुख लवकुमार श्रेष्ठले अत्यन्तै जोखिमयुक्त ठाउँमा बनेको यो विद्यालय व्यवस्थापनमा आफूहरू गम्भीर रूपमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘विद्यालय आएका बालबालिका भिरबाट लड्न सक्ने ठुलो जोखिमता छ, यसलाई ध्यान दिएर नगरपालिकाले तत्काल आवश्यक घेराबारेको व्यवस्था गर्छ ।’’ घेरा बार नै यो विद्यालयको उपयुक्त विकल्प नभएकाले विद्यालय सजिलो स्थानमा सार्ने बारेमा पनि शिक्षा समिति, विद्यालय सञ्चालन तथा व्यवस्थापन समिति र अभिभावकहरुसँग आवश्यक छलफल गरेर अगाडी बढ्ने उहाँले बताउनुभयो ।