निर्वाचनका लागि रामेछापमा १८०० कर्मचारी र २५०० सुरक्षाकर्मी परिचालन

  • प्रकाशित मिति: बिहिबार, मंसिर १ २०७९
  • तामाकोशी

रामेछाप । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रामेछापमा कर्मचारी तथा सुरक्षाकर्मी परिचालित भएका छन् । निर्वाचनका लागि एक हजार ८०० भन्दा बढी कर्मचारी र दुई हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९६ मतदान स्थल र २२६ मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी गरी एक हजार ८१७ जना कर्मचारी खटाइएको छ । यस्तै निर्वाचनमा आवश्यक सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर जिल्लामा दुई हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ । पहिलो घेरामा म्यादी प्रहरी, नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिने गरी सुरक्षाकर्मी परिचालन गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार निर्वाचन सुरक्षाका लागि ६५० जना नेपाल प्रहरी , एक हजार १०० जना म्यादी प्रहरी र नेपाली सेना, सशस्त्र प्रहरी खटाइएको छ । प्रमुख जिल्ला अधिकारी रेग्मीले जिल्लाको स्थलगत अनुगमन गरेर सुरक्षा रणनीति तयार पारिएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह पनि गर्नुभयो । उहाँका अनुसार विहीबार जिल्लाका सबै मतदान स्थल तथा केन्द्रमा खटाइएका कर्मचारी तथा सुरक्षाकर्मी पुग्ने र सूचना टास लगायतका काम गर्नेछन् । दुई वटा नगरपालिका र छ वटा गाउँपालिकाको ६४ वटा वडा रहेको रामेछापमा एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदै छ । प्रदेश क मा ८७ हजार ६३३ र प्रदेश ख मा ९२ हजार ४७३ जना गरी जिल्लामा एक लाख ८० हजार १०६ जना मतदाता रहेका छन् ।