मतदाता भन्छन् : टुरिष्ट नेतालाई भोट दिएर काम छैन

  • प्रकाशित मिति: आइतबार, कार्तिक २७ २०७९
  • तामाकोशी

रामेछाप । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई महानिर्वाचनको महासङ्ग्राम मानेर यति बेला राजनीतिक दल र उम्मेदवरहरू चुनावी कार्यक्रममा तछार पछाड गरी लागेका छन् । तर रामेछापको मन्थली नगरपालिका ८ गाईखुराकाकी ६५ वर्षीय शुकमाया माझीलाई यो निर्वाचनले पटक्कै छोएको छैन । विगतमा भोट हालेर जिताएकाहरूले पटक पटक ढाँटेपछि शुकमायालाई निर्वाचनले केही प्रभाव पार्न नसकेको हो । ‘यो गर्दिन्छु, त्यो गर्दिन्छु भनेर भोट माग्न नेताहरू आए, विश्वासले भोट पनि दियौँ, तर भने अनुसार केही काम गरेनन्’,उहाँले भन्नुभयो । नेताहरूले यसअघिका चुनावमा पटक पटक ढाँटेकाले यो पटक खानेपानी र सिँचाइको निःशुल्क व्यवस्था गरिदिने उम्मेदवारलाई भोट हाल्ने उहाँले बताउनुभयो ।
सोही गाउँकी ५१ वर्षीय सानुमाया माझीलाई पनि यो निर्वाचनले कुनै प्रभाव परेको छैन । विगतका निर्वाचनमा गरेका प्रतिबद्धताहरू सबै राजनीतिक दल तथा उम्मदवारहरुले भुलेपछि सानुमाया माझीलाई यो निर्वाचनपछि पनि आफ्नो गाउँमा राम्रो काम हुनेमा विश्वास छैन । ‘निःशुल्क खानेपानी र सिँचाइको व्यवस्था, अनि सडक बनाउने नाममा पटक पटक झुकाइसके, अहिले महिनाको दुई सय तिरेर पानी खान र प्रति युनिट २० रुपैयाँ तिरेर सिँचाइ गर्न बाध्य छौँ, जसले जिते पनि हाम्रो समस्या उही छन्’, उहाँले भन्नुभयो ।
गाउँमा सामान्य ज्याला मजदुरी पाइन छाडेकाले कमाई बन्द भएको र पानी तानेर सिँचाइ गरेको बिजुलीको पैसा तिर्न नसक्दा खेत बारी बाझै राख्ने अवस्था भएको उहाँले बताउनुभयो ।
६५ वर्षीय शुकमाया माझी र ५१ वर्षीय सानुमाया माझीको समस्या मन्थली नगरपालिका ८ गाईखुराका सबै माझी समुदाय कै समस्या हो । गाईखुरामा ६० घर माझी समुदायको बसोबास छ । बस्तीबाट नजिकै अविरल तामाकोसी नदी बगिरहेको छ । तर यहाँको माझी समुदाय महिनाको दुई सय रुपैयाँ तिरेर पिउने पानी र प्रति युनिट २० रुपैयाँ तिरेर कोसीबाट तानेको पानीले खेत बारीमा सिँचाइ गर्न बाध्य छन् ।
यसअघिका धेरै निर्वाचनमा निःशुल्क खानेपानी तथा सिँचाइ, रोजगारी सडक लगायतका पूर्वाधार बनाइदिन्छु भनेर धेरै नेताहरू भोट माग्न आए । तर निर्वाचनपछि यी कुरामा कसैको ध्यान गएन स्थानीय समेत रहनुभएका नागरिक समाजका अगुवा भुवनकुमार श्रेष्ठ बताउनुहुन्छ ।
‘चुनावमा भोट माग्न आएका नेताहरूले यहाँका माझी समुदायलाई पटक पटक झुकाइसकेका छन्, तर यो पटक यहाँका माझीहरू टुरिष्टका रूपमा आउने नेताहरूलाई भोट हाल्नुहुँदैन भन्ने पक्षमा छन्’, उहाँले भन्नुभयो । पहिला पहिला तामाकोसीमा प्रशस्तै माछा पाइन्थ्यो । कोसीमा माछा मारेरै भए पनि धेरै माझीहरूको परिवार चल्थ्यो । तर अहिले करेन्ट लगाएर माछा मार्नै प्रचलनका कारण कोसीमा माछा पाइन छाडेको छ । जसले गर्दा गाइखुराका माझी समुदायको पेसा नै सङ्कटमा पर्दै गएको छ ।