रामेछाप । रामेछाप आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक हजार ८१७ जना कर्मचारी खटिने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रामेछापमा निर्धारण भएको ९६ मतदान स्थल र २२६ मतदान केन्द्रका लागि कर्मचारी छनोट गरेको हो । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी गरी एक हजार ८१७ जना कर्मचारी खटन पठनका लागि छनोट गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । छनोट भएका कर्मचारीहरूलाई कात्तिक २५ र २६ गते अभिमुखीकरण दिएर मतदान केन्द्रमा खटाउने मुख्य निर्वाचन अधिकृतको कार्यालयको तयारी छ । निर्वाचनका लागि रामेछापमा करिब दुई हजार ५०० सुरक्षाकर्मी परिचालन हुँदै छन् । जिल्लाको दुई वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी आठ वटा स्थानीय तहमा दुई हजार ५०० सुरक्षाकर्मी परिचालन गर्ने तयारी जिल्ला सुरक्षा समितिले गरेको छ । जिल्लाभित्रको सुरक्षा संवेदनशीलतालाई हेरेर सुरक्षाकर्मी परिचालनको तयारी भइरहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र म्यादी प्रहरी परिचालन हुनेछन् । निर्वाचनमा ६५० नेपाल प्रहरी र एक हजार १०० जना म्यादी प्रहरी परिचालन गर्ने प्रहरीले तयारी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले बताउनुभयो ।
निर्वाचनका लागि १८१७ जना कर्मचारी परिचालनको तयारी
- प्रकाशित मिति: बिहिबार, कार्तिक २४ २०७९
- तामाकोशी