विकासको जगमा उभिएर रामेछापलाई नमुना जिल्ला बनाउँछौँ : कैलाश ढुङ्गेल 

  • प्रकाशित मिति: मंगलबार, कार्तिक २२ २०७९
  • तामाकोशी
रामेछाप । नेकपा एमाले रामेछापबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले रामेछापको विकासको जग आफूले बसालेको बताउनुभएको छ । मङ्गलवार जिल्लाको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा आयोजित घरदैलो भेटघाट तथा विभिन्न कोण सभामा बोल्दै एमाले केन्द्रीय सदस्य समेत रहनुभएका ढुङ्गेलले आफूले बनाएको विकासको जगमा उभिएर रामेछापलाई नमुना जिल्ला बनाउने बताउनुभयो । ढुङ्गेल जिल्ला विकास समिति रामेछापको सभापति हुँदा रामेछाप जिल्लाको आवधिक योजना बनेको थियो । सोही आवधिक योजनालाई आधार बनाएर रामेछाप जिल्लामा विकासका योजना बनेका छन् । ढुङ्गेल वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बन्दा आवधिक योजनाले निर्दिष्ट गरेका योजनामा बजेट विनियोजनको काम सुरु भएको थियो । हिमालसँग जोडिएको रामेछापको सबैभन्दा दुर्गम वडा गुम्देलमा बाह्रै महिना सहज रूपमा यातायात सञ्चालन हुने सडक निर्माण गर्ने ढुङ्गेलले प्रतिबद्धता गर्नुभयो । स्थानीय खोलाहरूमा निर्माणाधीन पुल निर्माणको कामलाई शीघ्र सम्पन्न गराउने तथा नयाँ पुल निर्माणको काम अघि बढाउने उहाँले बताउनुभयो ।
उत्तर काशी भनेर चिनिने रामेछाप उमातिर्थलाई आकर्षक पर्यटकीय स्थल बनाउने उहाँले बताउनुभयो । ‘ गाउँमा पूर्वाधार र रोजगारीको अवसर नहुँदा मानिसहरू गाउँ छाड्दै हिँडेका र गाउँका उर्वर भूमि बाँझो भएका ढुङ्गेलले बताउनुभयो । गाउँको बाँझो जमिनमा व्यवसायी उत्पादन बढाउने र गाउँमा नै रोजगारीको अवसर सिर्जना गर्नको लागि एमालेले काम गर्ने उहाँले बताउनुभयो ।सामाजिक सुरक्षा भत्ता र स्थानीय तहमा विकास बजेट एमालेको ब्रान्ड भएको ढुङ्गेलले दाबी गर्नुभयो । एमाले सरकार बन्ने बित्तिकै पहिलो बजेटमा ज्येष्ठ नागरिक सुरक्षा भत्ता ६ हजार पु¥याउने उहाँले बताउनुभयो । एमालेले पाँच वर्ष भित्रमा सामाजिक सुरक्षा भत्ता १० हजार पु¥याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । ढुङ्गेलले एमालेको विकल्पमा सरकार दिने क्षमता कुनै पनि राजनीतिक दलको नभएको बताउनुभयो । एमालेको राजनीतिलाई धुरीमा पु¥याउन एमाले उम्मेदवारलाई विजयी गराउने उहाँले आग्रह गर्नुभयो ।