माओवादीका इमानदार कार्यकर्ताले एमालेमा भोट हाल्छन् : शान्तिप्रसाद पौडेल

  • प्रकाशित मिति: आइतबार, कार्तिक २० २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य शान्तिप्रसाद पौडेलले गाउँमा आएको राज्य कोषको पैसा दुरुपयोग नगर्न आग्रह गर्नुभएको छ । नेकपा एमाले निर्वाचन परिचालन कमिटी रामेछापले आइतबार उमाकुण्ड गाउँपालिकाको च्यादोलुमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै वाग्मती प्रदेश सभा सदस्यका उम्मेदवार समेत रहनुभएको पौडेलले नक्कली सामान किनेर सक्कली सामानको बिल बनाउनेहरू मौलाउँदै गएको बताउँदै उहाँले त्यसमा सचेत हुन मतदातालाई आग्रह गर्नुभयो । उहाँले गठबन्धन केन्द्रका नेताहरू बिच मात्र भएको प्रष्ट पार्नुभयो । गाउँमा नेता कार्यकर्ता गठबन्धनको पक्षमा नरहेको उहाँले बताउनुभयो । बीपी कोइरालाले अहिलेका कांग्रेसका नेता कार्यकर्ता कस्ता हुन्छन् भन्ने कुरा उतिबेलै कल्पना गरेको उहाँको भनाइ छ । बीपीले पार्टी सुकिलामुकिलाको हाबी हुँदा कार्यकर्ताले विद्रोह गर्नु पर्ने बताउनुभएको पौडेलले प्रष्ट पार्नुभयो । माओवादीका पनि इमानदार कार्यकर्ताले एमालेमा भोट हाल्ने उहाँले दाबी गर्नुभयो । कांग्रेसका कार्यकर्ताले समेत विद्रोह गर्नु पर्ने अवस्था आएको बेला शेरबहादुर देउवासँग मिल्न जानुभएका प्रचण्डको पार्टीलाई इमानदार माओवादी कार्यकर्ताले भोट हाल्न नसक्ने उहाँले दाबी गर्नुभयो ।