रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १२ गेलुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शान्ति सेवा गृह क्लिनिक तथा पुनस्थापना केन्द्रले मंगलबार शिविरको आयोजना गरेको हो । शिविरमा दन्त सेवा, स्त्री रोग सम्बन्धी चेक जाँच,आँखा जाँच तथा चस्मा वितरण, झुल वितरण बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई पौष्टिक आहार (लिटो) वितरण र बालबालिका सम्बन्धी रोगको चेक जाँच सेवा प्रवाह गरिएको शान्ति सेवा गृह क्लिनिक तथा पुनस्थापना केन्द्रका प्रतिनिधि दीपक विकले जानकारी दिनुभयो । स्वास्थ्य शिविरबाट करिब ७०० जना नागरिक लाभान्वित भएको उहाँले बताउनुभयो । गाउँमै चिकित्सकको टोली सहितको स्वास्थ्य शिविर सञ्चालन भएपछि स्थानीय निकै उत्साहित थिए । शान्ति सेवा गृह क्लिनिक तथा पुनस्थापना केन्द्रले विगत २९ वर्षदेखि विभिन्न जिल्लाहरूमा कुष्ठरोग प्रभावित, अपाङ्ग, असहाय र सीमान्तकृत समुदायलाई स्वास्थ्य सेवामा पहुँच, पुरस्थापना केन्द्र तथा क्लिनिक,जीविकोपार्जन, पौष्टिक आहार कार्यक्रम लगायतका कार्यक्रमहरू जर्मन दातृ निकायको सहयोगमा सञ्चालन गर्दै आएको छ ।
