रामेछापमा राती ८ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने

  • प्रकाशित मिति: आइतबार, कार्तिक ६ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापमा नेपालीहरूको दोस्रो महान् चाड तिहारको देउसी भैलो राती ८ बजेसम्म मात्रै खेल्न पाइने भएको छ । प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहान ६ बजेदेखि राती ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने निर्णय गरेको हो ।
दीपावली र छठ पर्वको समयमा हुन सक्ने अवाञ्छित गतिविधिहरूलाई मध्यनजर गर्दै ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न दिइने र ८ बजेपछि मदिरा तथा मदिराजन्य पदार्थ बेचबिखनमा समेत रोक लगाइएको हो । बैठकले गृह मन्त्रालयको मिति २०७९÷०७÷०२ गतेको पत्रानुसार दीपावली नेपाल स्वमत र छठ पर्वको समयमा हुन सक्ने अवाञ्छित गतिविधिहरूलाई चाडपर्व लक्षित सुरक्षा कार्य योजना अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट समन्वयात्मक रूपमा गस्ती पट्रोलिङ गरी पटका, भुईचम्पा, आतस बाजी जस्ता प्रज्वलनशील तथा विस्फोटक बस्तुहरूको उत्पादन, ओसारपसार बिक्रिवितरण तथा प्रयोगमा रोक लगाउने निर्णय पनि गरेको छ ।
यसै गरी बैठकले जुवा तास खेल्ने खेलाउने लगायत कानुनले निषेध गरेका कुनै पनि प्रकारका कार्य गरे गराएमा नियन्त्रणमा लिई कारबाही गर्ने साथै बजार अनुगमन, अखाद्य बस्तुको उत्पादन, बिक्री वितरणमा नियन्त्रण, बिष्टफोर्टक पदार्थको आयत गरिने नाका र बिक्री वितरण गरिने स्थानहरूमा निगरानी बढाई आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।