रामेछाप । रामेछापको रामेछाप नगरपालिकाले आफूले सम्पादन गर्ने कामलाई थप प्रभावकारी बनाउन रामेछापका पत्रकारहरूसँग सुझाव लिएको छ । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नीरज पौडेलले बुधवार जिल्लाका पत्रकारहरूसँग भेटघाट तथा अन्तरक्रिया गरी नगरको विकास गर्न सकिने आधारहरूका बारेमा सुझाव लिनुभएको हो ।
रामेछाप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेपछि पौडेलले पत्रकारहरूसँग भेटघाट गरी सुझाव लिनुभएको हो । कार्यक्रममा पत्रकाहरुले स्थानीय सरकार बनेपछि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाई, कृषि लगायतका क्षेत्रमा केही सुधार भएजस्तो देखिए पनि नागरिकको जीवन स्तर अहिले पनि उस्तै रहेको बताएका छन् । नगरपालिका भित्रका विभिन्न गाउँ बस्तीहरूमा बसोबास गर्ने नागरिकको जीवन स्तरमा अझै स्थानीय सरकारले परिवर्तन ल्याउन नसकेको पत्रकाहरुको गुनासो छ ।
पछाडि परेका वा पारिएका नागरिकहरूको जीवन स्तर उकास्ने र आन्तरिक आय वृद्धि गर्ने खालका योजनाहरू बनाउन पत्रकाहरुको नगरपालिकालाई सुझाव छ । पत्रकार टिकाप्रसाद भट्टले रामेछाप नगरपालिका कोसे बाली, जुनार उत्पादन र बाख्रा पालनको राम्रो सम्भावना भएको स्थानीय तह भएकाले यस्ता कुराहरूको उत्पादन बढाउने र उत्पादित बस्तुहरूको गुणस्तरलाई पनि वृद्धि गर्नुपर्ने सुझाव दिनुभयो ।
हेर्दा नगरपालिकाले बनाएको रणनीतिक योजना राम्रो भए पनि वार्षिक रूपमा ल्याउने नीति, कार्यक्रम र बजेट रणनीतिक योजना विपरीत रहेको उहाँले बताउनुभयो । ‘नगरपालिकाले वार्षिक रूपमा ल्याउने नीति, कार्यक्रम र बजेट नगरले बनाएको रणनीतिक योजना अनुसार हुनुपर्ने हो, तर यहाँ यस्तो हुन सकेको छैन, केही ठाउँमा गरिएको सडक कालोपत्रे पनि गुणस्तरहीन छन्’,् उहाँले भन्नुभयो ।
पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्रीनयाँघरेले नगरपालिकाको कामलाई प्रभावकारी र गुणस्तरीय बनाउन अनुगमन प्रणालीलाई थप बलियो बनाउन सुझाव दिनुभयो । ‘नगरपालिकाको अनुगमन प्रणाली बिरालो बाँध्ने जस्तो छ, सडक कालोपत्रे लगायतका योजनाहरूको काम गुणस्तर हीन बन्दा नगरले गर्ने कामप्रति नागरिकको विश्वास कम हुँदै गएको छ’, उहाँले भन्नुभयो । सेतो सुन भनिने बालुवा गिट्टी ढुङ्गा लगायतका सामाग्रीमा र नगरभित्र सञ्चालित सबै व्यवसायहरुलाई पनि करको दायरामा ल्याएर आन्तरिक आय वृद्धि गर्न उहाँको सुझाव छ ।
रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीरज पौडेलले अहिले रामेछाप नगरपालिकाको आन्तरिक आय एक करोड भन्दा कम रहेको बताउनुभयो । स्थानीय स्रोत साधनको समुचित प्रयोग गरेर कसरी हुन्छ आन्तरिक आय वृद्धिमा आफ्नो ध्यान जाने उहाँले बताउनुभयो । नगरपालिकाको सबै योजनाहरूलाई गुणस्तरीय रूपमा समयमै सम्पन्न गर्नका लागि अनुगमन संयन्त्रलाई थप कडा पार्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
नगरको विकास र समृद्धिमा सञ्चार जगतको ठुलो भूमिका रहेकाले नगरले गर्ने कामलाई नजिकबाट नियालेर धेरै भन्दा धेरै सुझावहरू दिन उहाँले पत्रकारहरूलाई आग्रह पनि गर्नुभयो ।
