खानेपानीका इन्जिनियर र पलम्बर २८ लाख घुस सहित अख्तियारको नियन्त्रणमा

  • प्रकाशित मिति: बुधबार, कार्तिक २ २०७९
  • तामाकोशी

रामेछाप । खानेपानी तथा सरसफाइ डिभिजन नं. ४, बागमती, प्रदेश, कार्यालय मन्थली रामेछापका इन्जिनियर र एक जना पलम्बरलाई सेवाग्राहीसँग लिएको घुस २८ लाख रुपैयाँ सहित अख्तियारले नियन्त्रणमा लिएको छ ।
अख्तियारले इन्जिनियर (आठौँ तह) का नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापालाई सेवाग्राहीसँग घुस (रिसवत) १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक सहित इन्जिनियर सत्यालको क्वाटरबाट नियन्त्रणमा लिएको हो ।
खानेपानी सम्बन्धी कामको भुक्तानी बापत सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले इन्जिनियर सत्याल र करार पलम्बर थापालाई सेवाग्राहीबाट लिएको १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक सहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ । दुवै जनालाई मन्थली नगरपालिका वडा नं १ स्थित इन्जिनियरको क्वाटरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।