निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न बनेका संयन्त्रहरूले काम गर्न नसकेको गुनासो

  • प्रकाशित मिति: आइतबार, असोज ३० २०७९
  • तामाकोशी

रामेछाप । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि रामेछापमा बनेका संयन्त्रहरूले प्रभावकारी काम गर्न नसकेको गुनासो आएको छ । आइतबार जिल्ला निर्वाचन कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा गरेको निर्वाचन आचारसंहिता तथा निर्वाचन तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा सहभागी भएका उम्मेदवार, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचनका लागि निर्वाचन आयोगले बनाएको आचारसंहिता राम्रो भए पनि कार्यान्वयन पक्ष निकै फितलो भएको गुनासो गरे । सहभागीहरूले जिल्लामा काम चलाउनका लागि मात्रै बनेका आचारसंहिता कार्यान्वयन संयन्त्रहरूले अहिले नै आचारसंहिता उलङ्घन हुँदा समेत नदेखे झैँ गरेको गुनासो गरेका छन् । सहभागीहरूले आचारसंहिता विपरीत निर्वाचन प्रचारमा स्थानीय तहका जनप्रतिनिधिहरूले स्थानीय स्रोत साधनहरूको प्रयोग गरिरहेको, उम्मेदवारी दर्ता कै दिन दल तथा उम्मेदवारहरूले ताम झाम देखाएर आचारसंहिता उलङ्घन गरे पनि उनीहरूमाथि कुनै कारबाही हुन नसकेको लगायत गुनासो गरेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गर्न नसक्दा धेरै मतहरू बदर हुने जस्ता समस्याहरू आएकाले यो निर्वाचनमा प्रभावकारी मतदाता शिक्षाको पनि माग गरेका छन् । जिल्ला निर्वाचन अधिकारी मुकरकुमार साहाले जिल्लामा निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि बनेका संयन्त्रहरूबाट कडा अनुगमन हुने बताउनुभयो । विगतको अनुभवलाई मध्यनजर गरी मतदान हुने भन्दा १५ दिन अगाडीबाट मतदाता शिक्षा सञ्चालन गर्ने निर्वाचन आयोगको तयारी रहेको उहाँले बताउनुभयो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी प्रभाखर रेग्मीले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने बारेमा राजनीतिक दलहरूबाट सकारात्मक प्रतिबद्धता आएको बताउनुभयो । ‘आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्न जिल्ला प्रशासन लगायत अन्य संयन्त्रहरू सचेत छौँ, यो समयमा स्थानीय जनप्रतिनिधिहरूबाट हुन सक्ने स्थानीय स्रोत साधनको दुरुपयोग प्रति पनि हाम्रो ध्यान गएको छ’, उहाँले भन्नुभयो । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश उर्मिला शर्माले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधली रहित हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्नुभयो । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा रामेछापका एक लाख ८० हजार १०६ जना मतदाताले भोट हाल्दै छन् । यो निर्वाचनमा जिल्लामा ९६ मतदान स्थल र २२६ वटा मतदान केन्द्र निर्धारण भएका छन् । जिल्ला निर्वाचन कार्यालयले गत स्थानीय तह निर्वाचनमा भन्दा यो निर्वाचनमा चार वटा मतदान स्थल र तीन वटा मतदान स्थल थप गरेको छ ।