एक्लै निर्वाचन लड्ने तागत एमालेसँग मात्रै छ : माधव ढुङ्गेल

  • प्रकाशित मिति: शनिबार, असोज २९ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले एक्लै निर्वाचन लड्ने तागत अब यो मुलुकमा नेकपा एमालेसँग मात्रै भएको बताउनुभएको छ । नेकपा एमाले गोकुलगंगा गाउँपालिका कमिटीको निर्वाचन परिचालन कमिटी घोषणा तथा अभिमुखीकरण कार्यक्रमलाई शनिवार सम्बोधन गर्नुहुँदै केन्द्रीय सदस्य ढुङ्गेलले यस्तो बताउनुभएको हो । ढुङ्गेलले एक्ला एक्लै निर्वाचन लड्ने हो भने प्रत्यक्ष तर्फ रहेको १६५ सिट मध्य १२५ सिट एमालेले जित्ने दाबी गर्दै एमालेसँग डराएर काँग्रेस माओवादी केन्द्र लगायतका दलले गठबन्धन गरेको बताउनुभयो । एमालेका विरुद्धमा अरू सबै राजनीतिक शक्तिहरू सारा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू, पैसा सबै प्रयोग गरेर लागेको उहाँको आरोप छ । एमालेलाई निर्वाचन जित्न माधवकुमार नेपाल, झलनाथ खानाल लगायतका समूहहरूले कुनै प्रभाव नपार्ने उहाँको भनाइ छ
केन्द्रीय सदस्य ढुङ्गेलले रामेछापको हाइड्रोपावरको उत्पादनलाई वृद्धि गर्ने, जडिवुट्टीको प्रशोधन र बजार व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । नागरिकको जीवन स्तर र आयआर्जन सँग जोडिएका धेरै कुराहरू गर्न बाँकी रहेकाले यो सब नेकपा एमालेले गर्ने उहाँको भनाइ छ ।