रामेछापमा गठबन्धनलाई बागी मिलाउनै मुस्किल, नेताहरु व्यापक छलफलमा

  • प्रकाशित मिति: मंगलबार, असोज २५ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापमा गठबन्धनलाई आफ्ना उम्मेदवारहरूको विरुद्धमा मनोनयन दर्ता गराएका बागी उम्मेदवारलाई मिलाउन मुस्किल भएको छ । टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्रको गठबन्धनका साझा उम्मेदवारको विरुद्ध गठबन्धनमा आबद्ध दलका नेताहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि गठबन्धनलाई समस्या भएको हो । एक सङ्घीय निर्वाचन क्षेत्र र दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली काँग्रेसले सङ्घ र दुई वटा प्रदेश माओवादीले लिने सहमति अनुसार दुवै दलले गठबन्धनबाट साझा उम्मेदवार उठाएका छन् । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) को विरुद्धमा काँग्रेस रामेछापका पूर्व पार्टी सचिव चन्द्र राउतले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी गठबन्धनबाट रामेछाप प्रदेश क मा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठको विरुद्धमा माओवादी केन्द्रकै नेता रवीन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । पौडेल नेकपा माओवादी केन्द्र रामेछापको प्रदेश क क्षेत्रीय कमिटीका जिल्ला संयोजक तथा बागमती प्रदेश कमिटीका सदस्य हुनुहुन्छ ।
त्यस्तै माओवादी केन्द्रबाट प्रदेश ख मा उम्मेदवार बन्नुभएका युवराज चौलागाईको विरुद्ध माओवादीकै नेता डिल्लीमान तामाङले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । तामाङ २०६४ को संविधानसभा सदस्य तथा माओवादी पार्टीको पूर्व जिल्ला अध्यक्ष हुनुहुन्छ । उहाँ अहिले नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सचिवालय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ ।
गठबन्धनका उम्मेदवारहरूका विरुद्ध परेको बागीको व्यवस्थापन गर्न अहिले नेपाली काँग्रेस र माओवादी केन्द्र दुवै दलका नेताहरू व्यापक छलफलमा जुटेका छन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा गठबन्धनका उम्मेदवार विरुद्ध उम्मेदवारी दर्ता गराउने स्वतन्त्र उम्मेदवारहरूसँग व्यापक छलफल भइरहेको काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले बताउनुभयो । ‘अहिले रामेछापमा काँग्रेस र माओवादी केन्द्रबिच गठबन्धन भएको छ, गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई राखेर पटक÷पटक कुरा भएका छन्, उहाँहरूबाट सकारात्मक कुराहरू आएका छन्’, उहाँले भन्नुभयो । उपसभापति कार्कीले गठबन्धनले विभिन्न तह र तप्काबाट आफ्ना उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेहरूसँग आवश्यक छलफल भइरहेकाले अन्तिमसम्म स्वतन्त्र उम्मेदवारी फिर्ता हुने बताउनुभयो ।