अरनिको र वीपी राजमार्गको काभ्रे खण्डमा टिपर चलाउन निषेध

  • प्रकाशित मिति: शुक्रबार, असोज १४ २०७९
  • तामाकोशी

काभ्रे । दशैँमा गाडी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा रहेको दुई राजमार्गमा शुक्रबारदेखि टिपर सञ्चालन निषेध गरेको छ । कार्यालयले अरनिको र वीपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य गाडीका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो। यातायात सेवा समितिका पदाधिकारीसँगको छलफलमा दुई राजमार्गमा आजदेखि असोज २४ गतेसम्म टिपर सञ्चालन गर्न नपाउने तथा सार्वजनिक गाडीका लागि टाइम कार्ड लागू गरी सञ्चालन गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौबाट दशैँ मनाउन काभ्रेपलाञ्चोकको रुट भएर मध्यपूर्व हुँदै पूर्वी जिल्ला जाने आउने यात्रुहरूको चापलाई व्यवस्थापन गर्न यो निर्णय गरिएको हो । दुई राजमार्गमा दैनिक दुई हजार पाँच सय टिपरले निर्माण सामग्री ढुवानी गर्दै आएका छन् । कार्यालयका अनुसार टाइम कार्ड लागू गरिएका रुटमा वीपी राजमार्गअन्तर्गत मङ्गलटार–भकुण्डे १८ किमी दूरीका लागि ४० मिनेट, भकुण्डेबेसी–काभ्रेभञ्ज्याङ १३ किमी दूरीका लागि ३५ मिनेट, अरनिको राजमार्गको धुलिखेल–पाँचखाल १५ किमीका लागि ३० मिनेट, पाँचखाल–दोलालघाटका लागि १० किमी दूरीमा २० मिनेट समय निर्धारण गरिएको छ। अरनिको राजमार्गभन्दा वीपी राजमार्गमा फूलपाती, अष्टमी र नवमीका दिन धेरै गाडीको चाप हुने गरेको छ । यसपालि दुवै राजमार्गमा गाडी चाप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासन र यातायात व्यवसायीले सहजरूपमा यात्रुलाई आउने जाने वातावरण मिलाउन तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले हिजो बिहीवार छलफल गरेका हुन् ।