रामेछापमा विश्व आत्महत्या रोकथाम दिवस : एक वर्षमा ४५ जनाले गरे आत्महत्या

  • प्रकाशित मिति: आइतबार, असोज २ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापमा विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय रामेछापले सचेतनामूलक र्याली तथा अन्तरक्रिया कार्यक्रम गरी यो दिवस मनाएको हो । आइतबार बिहान देवकोटा चोकबाट मन्थली नगर कार्यपालिकाको कार्यलय सम्म भएको चेतनामूलक र्यालीमा जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का, खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, रामेछाप नगरपालिकाकी उपप्रमुख बालकुमारी कार्की, खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङ, प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाज, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।
र्यालीपछि प्रमुख जिल्ला अधिकारी पहाडीको अध्यक्षता र जिल्ला समन्वय समिति रामेछापकी प्रमुख खड्काको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा जिल्ल प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक राजुप्रसाद ढकालले रामेछापमा आत्महत्याका घटना बारे जानकारी गराउनुभएको थियो । प्रहरी निरीक्षक ढकालले गत आर्थिक वर्ष २०७८÷०७९ को एक वर्षमा रामेछाप जिल्लामा ४५ जना मानिसले आत्महत्या गरेको बताउनुभयो ।
उहाँका अनुसार यो वर्ष मन्थली नगरपालिकामा ८ जना, रामेछाप नगरपालिकामा दुई जना, उमाकुण्ड गाउँपालिकामा १२ जना, लिखुतामाकोसी गाउँपालिका ८ जना, सुनापति गाउँपालिकामा ६ जना, दोरम्बा सैलुङ गाउँपालिकामा ५ जना र खाँडादेवी गाउँपालिकामा ४ जनाले आत्महत्या गरेका छन् ।
यसरी आत्महत्या गर्नेमा दुई जना बालिका, ३ जना बालक, २१ जना महिला र १९ जना पुरुष रहेका छन् । आत्महत्याका घटनाहरुलाई हेर्दा प्रेममा असफलता, गरिबी बेरोजगारी तथा आर्थिक समस्या, शिक्षामा असफलता, मानसिक सन्तुलन, विभिन्न दीर्घ रोगको पीडा, सम्बन्धमा दरार, विभिन्न अपराधका पीडित, विभिन्न अपराधको सामना गर्न नसकेर, कुनै कामका लागि अनावश्यक दबाब, पारिवारिक कलह, सामाजिक अपमान तथा बहिष्कार, मादक पदार्थ र लागू औषधको अद्यावधिक प्रयोग जस्ता कारणहरू देखिएको उहाँले बताउनुभयो ।
प्रहरी निरीक्षक ढकालले जिल्लामा बढ्दो आत्महत्याका घटनाको रोकथामका लागि समुदाय प्रहरी साझेदारी सम्बन्धी विभिन्न समितिहरूको पुनर्गठन गर्ने, अपराध न्यूनिकरणमा स्थानीय तहको सहयोग तथा सहकार्य, पुलिस शिक्षक कार्यक्रम सबै विद्यालयहरूमा सञ्चालन गर्ने र जिल्लामा सञ्चालित रेडियोमा सचेतनामूलक रेडियो कार्यक्रम प्रसारण गर्ने योजना अगाडि सारेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार रामेछापमा आर्थिक वर्ष २०७५÷०७६ मा ४२ जना, २०७६÷०७७ मा ५० जना र २०७७÷०७८ मा ६५ जनाले आत्महत्या गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का, खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, रामेछाप नगरपालिका उपप्रमुख बलकुमारी कार्की, खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङ लगायतले समाजमा बढ्दो आत्महत्याका घटना र रोकथामका बारेमा बोल्नुभएको थियो ।