रामेछाप । रामेछापको लिखुतामाकोसी गाउँपालिकामा सञ्चालित एक विद्यालयले दस वर्षदेखि लेखा परीक्षण नगरेको पाइएको छ । लिखुतामाकोसी गाउँपालिका वडा नं २ सैपुमा रहेको सहिद स्मृति माध्यामिक विद्यालयले आर्थिक वर्ष २०७०÷०७१ देखि लेखा परीक्षण तथा सामाजिक परीक्षण नगरेको पाइएको हो ।
दस वर्षसम्म सामाजिक परीक्षण र लेखा परीक्षण नगर्ने यो विद्यालयलाई तत्कालीन जिल्ला शिक्षा कार्यालय तथा अहिले गाउँपालिकाले समेत लगातार बजेट निकासा दिँदै आएको छ । दस वर्षसम्म सामाजिक परीक्षण र लेखा परीक्षण नगर्ने यो विद्यालयलाई निरन्तर बजेट दिने निकाय तथा विद्यालयको सुशासन, पारदर्शिता, आर्थिक अनुशासन तथा शिक्षाको गुणस्तर सुधारमा प्रश्न खडा गरेको छ ।
विद्यालयले हरेक वर्ष गर्नुपर्ने सामाजिक परीक्षण तथा लेखा परीक्षण नगरेको पाइएपछि सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले सोमबार विद्यालय व्यवस्थापन समिति तथा शिक्षक र सरोकारवालाको बैठक राखेर ३५ दिन भित्र लेखा परीक्षण गराउने प्रतिबद्धता गराउनुभएको छ ।
बैठकमा हालसम्मको सामाजिक परीक्षण र लेखा परीक्षण गराउने निर्णय भएको वडाध्यक्ष पौडेलले बताउनुभयो । सो विद्यालयमा कृष्णप्रसाद पौडेल प्रधानाध्यापक हुँदादेखि नभएको लेखा परीक्षण गराउन अहिलेकी प्रधानाध्यापक सन्ध्या पौडेलले समेत वास्ता नगर्दा दस वर्षदेखि लेखा परीक्षण हुन नसकेको स्थानीय तथा अभिभावकहरूले बताएका छन्। उनीहरूका अनुसार लेखा परीक्षण नहुँदा विद्यालयको आयव्ययको कुनै हिसाब किताब छैन । आर्थिक नियमितता छ वा अनियमितता त्यसको मापन गर्ने ठाउँ समेत छैन । सामाजिक परीक्षण नगर्दा अभिभावक र सरोकारवालाको सुझाव लिने काम समेत भएको छैन । यस विषयमा गाउँपालिकामा रहेको शिक्षा समिति, वडा कार्यालयले विद्यालयका प्रधानाध्यापकसँग आवश्यक छलफल गरिरहेको लिखुतामाकोसी गाउँपालिकाका अध्यक्ष केशव महतले बताउनुभयो । ‘सहिद स्मृति माध्यामिक विद्यालयले दस वर्षदेखि सामाजिक तथा लेखा परीक्षण नगरेको पाइयो, यो विषयमा सम्बन्धीत निकायसँग आवश्यक छलफल भैरहेको छ, विद्यालयले सामाजिक तथा लेखा परीक्षण गराउनुको विकल्प छैन,’ उहाँले भन्नुभयो । यस विषमा गाउँपालिका शिक्षा शाखाका प्रमुख, शिक्षा समिति, वडा अध्यक्षसँग आवश्यक छलफल गरेर गाउँपालिका अगाडि बढ्ने उहाँले बताउनुभयो ।
