बागमती प्रदेश सभा सदस्य रिता माझीद्वारा पार्टीबाट राजीनामा

  • प्रकाशित मिति: सोमबार, भाद्र २७ २०७९
  • तामाकोशी

रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टीकी निर्वाचित केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सभा सदस्य रिता माझीले पार्टीको साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । आइतबार एक विज्ञप्ति जारी गरी माझीले पार्टीबाट राजीनामा दिएको बताउनुभएको हो । राप्रपाले अहिलेको आवश्यकता पूरा गर्न नसक्ने भएको कारण पदबाट राजीनामा दिएको उहाँको भनाइ छ । यति बेला मुलुकलाई बलियो राष्ट्रवादी शक्ति आवश्यक रहेको माझीले बताउनुभएको छ । ‘मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम अनुसार अहिले मुलुकले एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको छ, जो मन, वचन र कर्मले राष्ट्रवादी होस्, प्रजातन्त्रको संरक्षणमा क्रियाशील रहोस्, धर्म, संस्कृति र पहिचानको रक्षामा खडा होस्, आर्थिक विकास, सुशासन र समृद्धिको लक्ष्य प्राप्तिको दिशामा अघि बढोस्’, माझीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
फराकिलो छाती, दूरदर्शी चिन्तन, स्पष्ट योजना र कार्यक्रमको कार्यक्रमको साथ राजनीतिमा आउनु पर्ने माझीको भनाइ छ । छरिएर रहेका सबै राष्ट्रवादी, देशभक्त प्रजातन्त्र प्रेमीलाई समेटेर लैजान सक्ने सक्षम नेतृत्व मुलुकले खोजेको उहाँले बताउनुभएको छ । राप्रपा अहिलेको आवश्यकतालाई परिपूर्ति गर्ने ढङ्गबाट अघि बढ्न नसकेको उहाँको निष्कर्ष छ । साँघुरो सोच, व्यवहार, अहङ्कार, कुण्ठा र पूर्वाग्रह प्रेरित भावनाबाट राप्रपा नेतृत्व अघि बढेको उहाँको आरोप छ । यसलाई आम कार्यकर्ताले अस्वाभाविक रूपमा लिएका उहाँले बताउनुभएको छ । यस्तो परिवेशमा राप्रपालाई परिकल्पना गरेको शक्ति निर्माण गर्न असम्भव रहेको उहाँको निचोड छ । राप्रपा बाहिरबाट हेर्दा मोटाएको जस्तो देखिने तर भित्रभित्रै रोगले सुन्निएको अवस्थाबाट गुज्रिरहेको उहाँको भनाइ छ । यस्तो तथ्यलाई बुझेर भावना शून्य, बिचार हीन राप्रपामा बसिरहन आत्माले स्वीकार नगरेकोले पार्टी छाडेको उहाँले बताउनुभएको छ । रामेछापकी माझी सिन्धुली रामेछापलाई कार्य थलो बनाएर राप्रपामा सक्रिय हुनुहुन्थ्यो । प्रदेश सभा सदस्यको म्याद सकिनै लाग्दा उहाँले पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।