रामेछाप । रामेछापका १६ हजार जना भन्दा बढी बालबालिकाले कोरोना विरुद्धको फाइजर खोप लगाएका छन् । दुई वटा नगरपालिका र छ वटा गाउँपालिकाका १६ हजार १३ जना बालबालिकालाई कोरोना भाइरस विरुद्ध पहिलो मात्राको फाइजर खोप लगाइएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालय रामेछापका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार मन्थली नगरपालिकामा चार हजार २३४ जना, रामेछाप नगरपालिकामा दुई हजार ३१६ जनाले कोरोना भाइरस कोभिड–१९ विरुद्धको फाइजर खोप लगाएका छन् । त्यसैगरी सुनापति गाउँपालिकामा एक हजार १७५ जना, दोरम्बा सैलुङ गाउँपालिकामा एक हजार ५८० जना, खाँडादेवी गाउँपालिकामा एक हजार ४७३ जना बालबालिकाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । त्यस्तै, उमाकुण्ड गाउँपालिकामा एक हजार ६७४ जना, गोकुलगङ्गा गाउँपालिकामा एक हजार ८२४ जना र लिखुतामाकोसी गाउँपालिकामा एक हजार ७३७ जनाले कोरोना भाइरस विरुद्धको फाइजर खोपको पहिलो मात्रा खोप लगाएका छन् । कोरोना भाइरसको जोखिमतालाई ध्यानमा राखेर रामेछापको सबै पालिकामा भदौ ७ गतेदेखि १० गतेसम्म विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयहरूमा फाइजर खोप लगाउने अभियान सञ्चालन गरिएको थियो । अब दोस्रो मात्राको खोप यही भदौ २८ गतेबाट सुरू गरिने स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो । रामेछापमा ५ देखि ११ वर्षसम्मका १७ हजार ५०० बढी जना बालबालिका रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
रामेछापका १६ हजार बढी बालबालिकालाई कोरोना विरुद्धको खोप
- प्रकाशित मिति: बुधबार, भाद्र २२ २०७९
- तामाकोशी