रामेछाप । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रामेछापका अध्यक्ष शुशिल अधिकारीको वैधतामाथि नेविसंघकै विद्यार्थीहरुले प्रश्न उठाएका छन् । उनीहरुले प्रश्न उठाउँदै तत्काल हटाउन पार्टी नेतृत्व र नेविसंघको केन्द्रीय नेतृत्वलाई अनुरोध गरेका छन् । पार्टीका सभापतिलाई सम्बोधन गरेर असार ३२ गतेको मितिमा विद्यार्थीहरुले यस विषयमा निवेदन पनि दिएका थिए । साथमा बैशाखमै पनि विद्यार्थीहरुले सामूहिक रुपमा यस विषयमा कुरा राख्दा पार्टीले स्थानीय तहको निर्वाचन आएकाले विवाद सतहमा नल्याउन पार्टीले अनुरोध गरेपछि विद्यार्थीहरु ब्याक भएका थिए । तर, अहिलेसम्म माग सम्बोधन नगरिएको भन्दै नेविसंघमा आवद्ध विद्यार्थीहरुले पुनः अधिकारीले नेपाल विद्यार्थी संघको अध्यक्ष बनिरहन वैधानिक र नैतिक आधार गुमाईसकेको जनाएका छन् । उनीहरुले अधिकारीमाथि काठमाडौँमा बसेर पार्टीको अभियानलाई असहयोग गरिरहेको, विधान विपरितका गतिविधि गरिरहेको, पार्टी सभापतिकै फोन नउठाउने गरेको लगायतका आरोप लगाएका छन् । अधिकारीले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका उपाध्यक्ष प्रभाकर घिमिरेमाथि लेटरहेड र छापको दुरुपयोग गरेर चरित्रहत्या गरेको आरोप पनि लगाईएको छ । बैठकै नराखी सहसचिव विमल पौडेललाई उपाध्यक्ष बनाएको र क्षेत्रको पदाधिकारी प्रज्वल बुढाथोकीलाई जिल्ला सचिव बनाएको तर, एकलौटी ढंगले गरिएका यी निर्णय कुनै मिटिङ र फोरमबाट अनुमोदन नभएको दाबी अध्यक्ष अधिकारी इतर समूहका विद्यार्थीको छ ।
नेविसंघ रामेछापको विवाद : अध्यक्षलाई बर्खास्त गर्न पार्टी सभापतिलाई दबाब
- प्रकाशित मिति: मंगलबार, भाद्र २१ २०७९
- तामाकोशी