मन्थली नगरपालिकामा प्रदेश सरकारको अधिकांश योजना अलपत्र

  • प्रकाशित मिति: मंगलबार, भाद्र २१ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिकाको गौरवको आयोजना स्विमिङ पुल सहितको तीनलाल स्मृति पर्यटकीय पार्क अझै सञ्चालनमा आउन सकेको छैन । मन्थली नगरपालिका वडा नं १ हाटेचौरमा आर्थिक वर्ष २०७७÷०७८ को भदौबाट निर्माण सुरु गरिएको यो पार्क पटक पटक थप गरिएको समय सहित २०७९ बैशाख पहिलो हप्ताबाट सञ्चालनमा आउनुपर्ने हो । तर निर्माण कम्पनीले समयमै काम नसक्दा नगरपालिकाले यो पार्क अहिलेसम्म सञ्चालन गर्न सकेको छैन । पार्कको करिबकरिब काम सबै काम सकिएको भएपनि निर्माणको जिम्मा लिएको कम्पनीले स्विमिङ पुलको केही टेक्निकल काम र केही वाइरिङ काम नसक्दा सञ्चलनमा समस्या भएको मन्थली नगरपालिका प्राविधिक शाखाका प्रमुख डिल्ली अधिकारीले बताउनुभयो ।
दश करोड रुपियाँको अनुमानित लागत भएपनि छ करोड ८८ लाखमा रुपियाँमा सम्झौताको १५ महिनामा काम सम्पन्न गर्नेगरी पाँच पोखरी कन्ट्रक्सनले ठेक्का लिएको थियो । यो पार्कका लागि मन्थली नगरपालिकाको चार करोड रुपियाँ र सङ्घीय सरकारले दुई करोड ८८ लाख रुपियाँ लगानी गरेको छ । ११ सय वर्गमिटरमा फैलिएको पार्कमा तीन वटा स्विमिङ पुल, सभा हल, प्रशासनीय भवन, चेन्जिङ रुम, चमेनागृह लगायतका संरचना बनेका छन् । एकै पटक तीस जना भन्दा बढीले स्विमिङ गर्न सक्नेगरी महिला पुरुष र बालबालिकाका लागि छुट्टा छुट्टै स्विमिङ पुल निर्माण गरिएको छ ।
मन्थली अस्पताल
सदरमुकाम मन्थलीमै निर्माणाधीन १५ शय्याका अस्पताल निर्माणको काम लामो समयदेखि रोकिएको छ । अस्पताल निर्माणको काम अलपत्र अवस्थामा छाडरे ठेकेदार भागेपछि गत मङ्सिरदेखि काम गर्ने मजदुरहरु बिचल्लीमा छन् । अस्पताल निर्माणको काम गत असारबाट पूर्णरुपमा बन्द अवस्था छ । मन्थलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याका अस्पतालमा स्तरोन्नति गरी २०७९ मङ्सिर ३० गते निर्माण सम्पन्न गर्ने गरी २०७८ भदौ १० गते शिलान्यास गरिएको थियो ।
निर्माणको जिम्मा लिएको श्री गाल्वा÷लाल शुभ मेन्द्रो जेभी काठमाडौंले २० प्रतिशत पनि काम नसकी अलपत्र छाडिदिएको छ । बागमती प्रदेश सरकारको लगानीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (भवन) रामेछाप मार्फत नौं करोड, ३२ लाख, ५० हजार ९८६ रुपियाँमा अस्पताल बन्नेगरी सम्झौता भएको थियो ।
अस्पताल निर्माणको काम अलपत्र छाडेर गत मंसिर महिनादेखि काम गरेको ज्याला नदिई ठेकेदार भागेपछि मजदुर अलपत्र परेको स्थानीय व्यवसायी प्रदिप श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अस्पताल निर्माणको क्रममा मजदुर तथा निर्माण व्यवसायीहरूले खाएको बसेको पैसा नपाउँदा आसपासका होटल तथा खाद्यान्न पसलहरू समस्यामा परेका छन् ।
बहुद्देश्यीय कभर्डहल
मन्थली नगरपालिका वडा नं २ भुत्याहा खोला किनारमा २०७६ साल भदौ महिना शिलान्यास भएको कभर्डहलको काम अझै सकिएको छैन । बागमती प्रदेश सरकारको लगानीमा निर्माण सुरु भएको यो कभर्डहलको १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सुनकोसी–गिरी जेभी काठमाडौँले २०७७ असार २१ गतेबाट काम सुरु गरेको थियो । ६ करोड, ५७ लाख, ९२ हजार, ८८० रुपियाँ ५३ पैसामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । कभर्डहलमा बास्केटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस जस्ता खेल संचालन गर्नसक्ने क्षमता रहेको छ । अत्याधुनिक कबर्डलमा करिव एक हजार २०० मानिस अटाउन सक्ने क्षमता हुनेछ । कबर्ड हलको २०७६ भदौ १७ गते बागमती प्रदेशका तत्कालिन आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले निक्कै तामझामका साथ शिलन्यास गर्नुभएको थियो ।
चिस्यान केन्द्र
मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण भएको तरकारी तथा फलफूल चिस्यान केन्द्र अलपत्र परेको छ । बागमती सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड दश लाख रुपियाँको साझेदारीमा चिस्यान केन्द्र निर्माण भएको हो । गत आर्थिक वर्ष २०७८÷०७९ बाटै सञ्चालन हुनुपर्ने यो चिस्यान केन्द्र सञ्चालनमा आउन नसक्दा जिल्लाका जुनार लगायतका अमिलो जातका फलफूल, किवी, आलु, विभिन्न जातका तरकारी उत्पादन गर्ने किसानहरु समस्यामा परेका छन् । करोडौं रुपियाँको लगानीमा निर्माण भएको चिस्यान केन्द्रको व्यवस्थापनका लागि सामान्य घेराबार समेत नहुदा अहिले सवारी पार्कीङ र कुकुर लगायतका पशु चौपाय बस्ने थलो बनेको स्थानीय पूर्ण सुवेदीले बताउनुभयो । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिमा निर्माण भैरहेका अधिकांश ठूला आयोजनाहरु अलपत्र जस्तै बनेको छ । यसरी अलपत्र बनेका योजना मध्ये धेरैमा बागमती प्रदेश सरकारको लगानी रहेको छ । मन्थली नगरपालिकासँगको साझेदारीमा निर्माण भैरहेका योजनाहरुका बारेमा सम्बन्धीत निर्माण कम्पनीका प्रतिनिधिहरुसँग नगरपालिकाले बैठक राखेर आवश्यक छलफल गरेको मन्थली नगरपालिका प्रमुख लवकुमार श्रेष्ठले बताउनुभयो । मन्थली अस्पतालको निर्माण व्यवसायी अझै सम्पर्कमा आएका छैनन्, उनको खोजी कार्य भैरहेकोछ, कभर्डहल छिटो निर्माण सम्पन्न गर्नेगरी नगरपालिकाले ताकेता गरिरहेकोछ उहाँले भन्नुभयो । मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण भएको तरकारी तथा फलफूल चिस्यान केन्द्र सञ्चलनका लागि प्रदेश सरकारसँग थप छलफल आवश्यक देखिएकाले प्रदेशको सम्बन्धीत मन्त्रालयमा जाने तयारी भैरहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।