माओवादी रामेछापले भोलिसम्म प्रतिनिधि सभा र प्रदेश सभा टिकटका लागि नाम सिफारिस गर्ने

  • प्रकाशित मिति: आइतबार, भाद्र १९ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले भने अझै उम्मेदवारी दाबी गर्नेहरूको नाम सिफारिस गर्न सकेको छैन । माओवादी केन्द्रले सोमबार दउँसोसम्म सिफारिस गरिसक्ने गरी तयारी गरिरहेको माओवादी केन्द्र रामेछापका सचिव तारानारायण श्रेष्ठ (विगुल) ले बताउनुभयो । सोमबार बिहान १० बजे जिल्ला समन्वय कमिटी र प्रदेश समन्वय कमिटीको बैठक बोलाइएको छ, सोमबार दिउँसो ३ः०० बजे सम्म फाइनल सिफारिस हुन्छ उहाँले भन्नुभयो । अहिले पालिका कमिटीहरूबाटै उम्मेदवारी दाबी गर्नेहरूको नाम सिफारिस गर्ने क्रम चलिरहेको उहाँले बताउनुभयो । माओवादीबाट दुई कार्यकाल सांसद बनेका श्याम कुमार श्रेष्ठले संघको टिकटको लागि आफ्नो दावी कायमै राख्नुभएको बताइएको छ । रामेछापका जिल्ला इन्चार्ज समेत रहेका श्रेष्ठ चुनावी कमान्डर समेत हुनुहुन्छ । तर यस पटक नयाँ अनुहारलाई टिकट दिनु पर्ने बहस पार्टीभित्र सुरु भएको छ । नयाँ अनुहारको रुपमा माओवादीका नेता युवराज चौलागाईँ अघि बढाउन केही नेताहरू लागि परेका छन् । गत संघीय चुनाव पनि चौलागाईँ उम्मेदवारको रुपमा पार्टीले सिफारिस गरेपनि अन्तिम समयमा आएर श्रेष्ठले टिकट पाउनुभएको थियो । यो पटक श्रेष्ठ र चौलागाईँका बीचमा टिकटको लागि प्रतिस्पर्धा हुने देखिएको छ ।