रामेछापको दुई वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एमालेको समन्वय कमिटी बन्यो

  • प्रकाशित मिति: बिहिबार, भाद्र १६ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछापले जिल्लाका दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्रको लागि समन्वय कमिटी गठन गरेको छ । बुधबार बसेको पार्टी पदाधिकारी बैठकले सो निर्णय गरेको एमाले रामेछापका उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाशकुमार कार्कीले जानकारी दिनुभयो । एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठको अध्यक्षता र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कैलाशप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्ययतामा बसेको बैठकले प्रदेशसभा ‘क’ निर्वाचन क्षेत्र समन्वय कमिटी संयोजकको जिम्मेवारी जिल्ला कमिटी उपसचिव होतराज ढकाललाई दिएको छ । प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्र समन्वय कमिटी संयोजकको जिम्मेवारी जिल्ला कमिटी सदस्य मिलनकुमार घिसिङलाई दिएको कार्कीले जानकारी दिनुभयो । प्रदेश क को सह–संयोजकको जिम्मेवारी आसबहादुर तामाङले पाउनु भएको छ । त्यस्तै सचिवको जिम्मेवारी भोला खड्काले पाउनुभएको छ । प्रदेश ख को सह–संयोजकको जिम्मेवारी उज्वल सुवेदीले पाउनुभएको छ । जसको सचिवमा मखमली श्रेष्ठलाई मनोनीत गरिएको छ । उम्मेदवारको सिफारिस गर्न २ वटै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठक भदौ १९ गते बस्ने बैठकले निर्णय गरेको छ । भदौ २० गते जिल्ला कमिटीको पूर्ण बैठक बस्नेछ ।