कांग्रेस रामेछापको निर्वाचन लक्षित कार्यक्रम

  • प्रकाशित मिति: मंगलबार, भाद्र १४ २०७९
  • तामाकोशी

रामेछाप । आगामी मङ्सीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस रामेछापले जिल्लाका आठ वटै स्थानीय तहमा निर्वाचन लक्षित अभियान सञ्चालन गर्दै छ । कांग्रेसले यही भदौ २२ देखि २४ गतेसम्म सबै पालिकामा पालिका स्तरको निर्वाचन केन्द्रित पहिलो चरणको कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको कांग्रेस रामेछापका प्रवक्ता नारायण बोगटीले बतउनुभयो । ‘भदौ २२ गते गोकुलगङ्गा, खाँडादेवी, सुनापति, दोरम्बा सैैलुङ, लिखुतामाकोसी र उमाकुण्ड गाउँपालिकामा कार्यक्रम गर्ने निर्णय भएको छ, कार्यक्रमका लागि सभापति पूर्णबहादुर तामाङ, पूर्वसभापति रामचन्द्र खड्का, निवर्तमान सभापति लवश्री न्यौपाने, उपसभापति लेखबहादुर कार्की तथा नवराज थोकर र सचिव दीपक खड्का खटिनुभएको छ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार भदौ २३ गते रामेछाप नगरपालिकामा हुने कार्यक्रमको लागि सहसचिव कमल योञ्जन प्रतिनिधिको रूपमा खटिनु भएको छ भने भदौ २४ गते मन्थलीमा भने पार्टी सभापति लगायत नेताहरूको सहभागितामा कार्यक्रम हुने छन् ।
कांग्रेसको केही दिन अघि सम्पन्न बैठकले पार्टीको आन्तरिक विवाद समाधान गरी चुनावी अभियानमा लाग्ने निर्णय गरेको थियो । बैठकले नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठक २०७९ साउन ३ गते पूर्वको स्थितिमा जो जसको जुन पदीय जिम्मेवारी छ त्यही अवस्थामा फर्कने निर्णय गरेको प्रवक्ता बोगटीले बताउनुभयो । उहाँका अनुसार जिल्ला प्रशिक्षण शाखाबाट तय भएका कार्यक्रम सम्पन्न भए पछि जिल्ला कार्यसमितिको निर्णय अनुसार कार्य सञ्चालन गर्ने सहमति बैठकले गरेको छ ।
कांग्रेस रामेछापमा विभिन्न कारणबाट विवाद उत्पन्न भएकोले केही महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य र केही पूर्व पदाधिकारी तथा सदस्यबाट केन्द्रीय कार्य समिति, वाग्मती प्रदेश कार्यसमिति र अन्य निकायमा पार्टी सभापतिको बर्खास्ती लगायतका मागहरू राखेर निवेदन दिएका थिए । जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यले गत साउन ६ गते इमेल मार्फत ज्ञापन पत्र बुझाएका थिए । अहिले ती निवेदन तथा ज्ञापनपत्रसमेतका कुरा सम्बोधन भएकाले फिर्ता लिने र ती निवेदन अगाडी नबढाउने सहमति भएको प्रवक्ता बोगटीले बताउनुभयो । ‘सभापतिले मनोनीत गर्ने आठ जना जिल्ला कार्यसमितिका सन्दर्भमा सभापतिको काम कर्तव्य र अधिकारमा रही कार्य गर्ने सहमति भएको छ,’ प्रवक्ता बोगटीले भन्नुभयो ।