रामेछापमा ४ हजार ४४२ मतदाता थपिए

  • प्रकाशित मिति: बिहिबार, भाद्र ९ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापमा चार हजार बढी मतदाता थपिएका छन् । दुई वटा नगरपालिका र छ वटा गाउँपालिकाको ६४ वटा वडा रहेको जिल्लामा गएको बैहाश ३० गते भएको स्थानीय तह निर्वाचनमा भन्दा चार हजार ४४२ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।स्थानीय तह निर्वाचनमा कूल एक लाख ७८ हजार ८६७ मतदाता रहेकोमा अहिले बढेर एक लाख ८३ हजार ३०९ पुगेको रामेछापका जिल्ला निर्वाचन अधिकारी मधुकरकुमार साहले बताउनुभयो । आगामी मङ्सीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा स्थानीय तह निर्वाचनमा भन्दा चार हजार ४४२ जना मतदाता थपिएका छन्, जिल्लामा मदान केन्द्र र स्थल पनि थप गर्ने प्रस्ताव गरिएको छ उहाँले भन्नुभयो ।
उहाँका अनुसार यसअघि कायम रहेको ९२ वटा मतदान स्थल र २२३ मतदान केन्द्रमा पाँच÷पाँच वटा थप गरी ९७ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्र बनाउका लागि निर्वाचन आयोग नेपालमा सिफारीस गरिएको छ । पाँचवटा मतदानस्थल ठाउँसारी गर्न पनि प्रस्ताव गरिएको छ । आठ वटा मतदान स्थलको नाम संसोधन गर्न, पाँचवटा मतदान केन्द्रलाई फुटाएर दस वटा बनाउँनेगरी र चारवटालाई ठाउँ सार्न निर्वाचन आयोगमा सिफारीस गरिएको छ उहाँले भन्नुभयो । उहाँका अनुसार खाँडादेवी गाउँपालिका–१ राकाथुम वडा कार्यालयमा रहेको मतदान स्थललाई राकाथुम माध्यामिक विद्यालय, खाँडादेवी गाउँपालिका–५ पकरबास आधारभूत विद्यालय राम्चेमा रहेको मतदान स्थललाई वडा कार्यालय भवन भिमस्थानमा सार्न सिफारिस गरिएको छ । त्यसैगरी, रामेछाप नगरपालिका–३ साँघुटारको कालिका ईश्वरी आभारभूत विद्यालयमा बाँकीमैरीमा रहेको मतदान स्थललाई वडा कार्यालय भवन साँघुटारमा र रामेछाप नगरपालिका–९ मा भिमसेनस्थान मन्दिरमा रहेको रहेको मतदान स्थललाई भिमेश्वर आधारभूत विद्यालय ल्याङल्याङमा सार्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।