रामेछाप । स्थानीयको सुविधाका लागि खनिएको सडकले रामेछापको मन्थली नगरपालिका–८ चिसापानीकी ६५ वर्षिया जानुका अछामीको परिवारको घरबास उठाएको छ । घरमुनिबाट मनलाग्दी रुपमा खनिएको सडकका कारण अछामीको पक्की घर बस्नै नहुनेगरी भासिएको छ । जीवनभरीको कमाइ र छोरा छोरीको मद्दतमा रहरले गाउँमा बनाएको चारकोठे पक्की घर भासिएपछि अहिले अछामी परिवारको दिनमा भोक र रातमा निन्द्रा हराएको छ ।
छोराले गाउँमा घर नबनाउँ भन्दा भन्दै हामी बुढाबुढीको करले घर बनाइयो, घर बनाउँदा झण्डै ५० लाख रुपिायँ पैसा खर्च भैसकेको छ, घर भासिएको भन्दै छोरा समेत नाता नातिनि र बुहारीलाई लिएर काठमाडौं गएपछि हामी एक्लो भएका छौँ, अछामीले रुदै भन्नुभयो । घर जोखिममा परेपछि ठेकेदारका प्रतिनिधिले घरमा नबस्नु भनेपछि अहिले मतानमा बुढाबुढी बसिरहेको र आफुहरुलाई क्षतिपुर्ति दिने र दिलाउने कुरामा ठेकेदार तथा सरोकारवाला निकाय मौन रहेको उहाँको गुनासो छ ।
अछामी जस्तै मन्थली नगरपालिका–८ चिसापानी कै ४० वर्षिया पार्वती श्रेष्ठको घर पनि सडककै कारण जोखिममा परेको छ । घरमाथिबाट नाला समेत नबनाइ जथाभावी खनिएको सडकबाट बग्ने भलबाढीले श्रेष्ठको गोठ धेरै पटक पुरिसकेको छ भने घरमा समेत पटक पटक भलबाढी पसिसकेको छ । माथिदेखि सडकमा आउने भलबाढी धेरै पटक घर गोठमा पसिसकेको छ, दिउँसोको समयमा भलबाढी आउँदा त छिमेकीको सहयोगमा कटाउन सफल पनि भएका छौँ, तर राति पानी परेको बेलामा डर र चिन्ताले निन्द्रा हराउँछ श्रेष्ठले भन्नुभो । सडक निर्माण गर्ने ठेकेदारलाई सडकमा नाला बनाउन धेरै पटक अनुरोध गर्दासमेत वास्ता नगरेको श्रेष्ठको गुनासो छ ।
लामो समयदेखि लथालिङ्ग अवस्थामा छोडिएको मन्थली–चिसापानी–पुरानागाउँ सडकका कारण अछामी र श्रेष्ठ जस्तै मन्थली नगरपालिका–८ चिसापानीका धेरैको दिनमा भोक हराएको छ भने रातमा निन्द्रा हराएको छ । स्थानीय प्रशासन, स्थानीय सरकारलाई समेत चुनौती दिदै निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनले विगत ७ महिनादेखि सडक निर्माणको काम अलपत्र छाडेको कारण सडकको भल व्यक्तिको घर र खेतमा पसेर विनाश गरेको छ । सडक विस्तार गरिएको जखनीटारदेखि चिसापानीसम्मको भाग पनि बाढीले बगाएर खण्डहर बनाएको छ । अधिकांश ठाउँमा नाला पुरिएको छ । ठाउँ ठाउँमा पहिरो गएको छ ।
वागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत मन्थली नगरपालिका–८ को जखनीटारदेखि मन्थली नगरपालिका–९ पुराना गाउँसम्मको कूल ७.३६ किलोमिटर सडकको नाला तथा ग्याभिन सहित कालोपत्रे गर्ने ठेक्का कान्छाराम कन्स्ट्रक्सनले पाएको थियो । २०७८ पुस २५ गते कार्य सम्पन्न गर्ने गरी सो कम्पनीले २०७७ साल असार २६ गते ठेक्का सम्झौता गरेको थियो । कूल १७ करोड ८८ लाख ६१ हजार ८ सय ८० रुपियाँमा काम गर्ने गरी ठेक्का लिएको सो कम्पनीले हालसम्म जखनीटारदेखि चिसापानीको ठुलो पँधेरोसम्म सडक विस्तार र नाला खन्ने काम गरेको छ । बस्तीको बिचमा ठाउँ ठाउँमा नाला खनेर सडक अलपत्र पारेर छाडिएको छ । मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठ राजनीतिक आडमा नै सडक निर्माणको काम अघि नबढेको बताउनुहुन्छ । आफू वडाध्यक्ष निर्वाचित नहुँदा देखिनै समयमा काम गर्न निर्माण व्यवसायीलाई बारम्बार अनुरोध गरेको भए पनि त्यसको सुनुवाइ नभएको उहाँले बताउनुभयो । अझ राजनीतिक आडमा कामको म्याद थपेर ठेकेदारहरु चैनका साथ बस्ने गरेको उहाँको भनाइ छ ।
