रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बागमती प्रदेश कार्यालय रामेछाप बहुप्राविधिक शिक्षालयले सरोकारवाला निकायसँग प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत सहित नगरपालिकाको विभिन्न वडाका वडा अध्यक्षहरू, नगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा रामेछाप बहुप्राविधिक शिक्षालयका प्रमुख हरि पौडेलले शिक्षालयको अवस्था र अहिलेसम्म भएको प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो । प्रमुख पौडेलले २०७४ सालमा स्थापना भएको शिक्षालयले स्थापना भएको पाँच वर्षको अवधिमा भौतिक तथा शैक्षिक रुपमा धेरै विकास गरिसकेको बताउनुभयो । उहाँले रामेछाप बहुप्राविधिक शिक्षालयमा देशभरका २० वटा भन्दा बढी जिल्लाका विद्यार्थीहरू अध्ययनरत रहेको बताउनुभयो । विद्यार्थीहरूको बहुआयामिक विकासका लागि विद्यार्थीको माग र क्षमता अनुसारका शिक्षालयले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको प्रमुख पौडेलले बताउनुभयो । कार्यक्रममा सहभागीहरूले रामेछाप बहुप्राविधिक शिक्षालयले उत्पादन गर्ने कृषि, पशुपन्छी पालन लगायतका क्षेत्रबाट हुने उत्पादनको बजारिकरणमा ध्यान दिन सुझाव दिएका थिए ।
मन्थलीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सम्बन्धी अन्तरक्रिया
- प्रकाशित मिति: आइतबार, भाद्र ५ २०७९
- तामाकोशी