प्रचण्ड र माधव नेपाल शेरबहादुर देउवाको हली गोठाला हुन् : योगेश भट्टराई

  • प्रकाशित मिति: आइतबार, भाद्र ५ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले तत्काल वाम गठबन्धन सम्भव नभएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रामेछापले आइतबार मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले प्रचण्ड र माधव नेपालले देउवालाई छाडेर नआएसम्म आगामी निर्वाचनमा वाम गठबन्धन नबन्ने बताउनुभएको हो । माओवादी अध्यक्ष पुष्पकमल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल गठबन्धन गरेर शेरबहादुर देउवाको हली बन्नुभएको छ, देउवाको हली छाडेर आए मात्रै वाम गठबन्धनबारे सोच्न र विचार गर्न सकिन्छ उहाँले भन्नुभयो । सचिव भट्टराईले नागरिकता विधेयकमा गठबन्धन सरकारले फोहोरी राजनीति गरेको टिप्पणी गर्नुभयो । भट्टराईले विधेयक पुनः संसद्ले राष्ट्रपतिलाई पठाइसकेकोले अब राष्ट्रपतिलाई विधेयक फिर्ता पठाउने संवैधानिक अधिकार नभएको बताउनुभयो । मङ्सिरमा हुने निर्वाचनमा एमालेको बहुमतको सरकार बन्ने र नारिकता विधेयक संशोधन गर्ने उहाँको भनाइ छ । सचिव भट्टराईले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमा राष्ट्रिय सहमति बनाउने र सच्याउने अवसर गठबन्धन सरकारले गुमाएको बताउनुभयो । वैवाहिक अङ्गीकृत नागरिकलाई विना सर्त नागरिकता दिने प्रावधान विश्वका कुनै पनि मुलुकमा नभएको उहाँले प्रष्ट पार्नुभयो । सचिव भट्टराई मन्थली नगर कमिटीको संगठन सुदृढीकरण र सुद्धिकरण कार्यक्रमा प्रशिक्षण दिन रामेछाप आउनुभएको हो ।