रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले झुटा विवरणका आधारमा सामाजिक सुरक्षा भत्ता लगायतका सुविधाहरू अनधिकृत रुपमा लिइरहेको भन्दै जिल्लाका सबै पालिकाहरूलाई सचेत गराएको छ । कतिपय व्यक्तिहरूले नागरिकताको प्रमाणपत्रमा उल्लेखित उमेर लगायतका विवरण आफैले सच्याएर सामाजिक सुरक्षा भत्ता लिइरहेको सूचना प्राप्त भएको भन्दै प्रशासनले सबै पालिकाहरूलाई सचेत गराएको हो । कुनैपनि नागरिकले नागरिकताको उमेर सच्याएको आशंका लागेमा जिल्ला प्रशासन कार्यालय रामेछापसँग समन्वय गरी यकिन पश्चात मात्रै सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न जिल्लका सबै पालिका तथा वडाहरूलाई आग्रह गरिएको रामेछापका प्रमुख जिल्ला अधिकार दीपककुमार पहाडीले बताउनुभयो । कतिपय नागरिकले जानेर वा नजानेर नागरिकताको प्रमाण पत्रमा उल्लेखित उमेर लगायतका विवरण आफैले सच्याएर सामाजिक सुरक्षा भत्ता लगायतका सुविधा लिएको पाइएको छ, यस्ता कार्य गर्ने केहीलाई कानुन् अनुसार कारबाही गरिएको छ प्रमुख जिल्ला अधिकारी पहाडीले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी पहाडीले सामाजिक भत्ता लिने वा अन्य प्रायोजनका लागि नामा, उमेर फेरेर नागरिकता लिइसकेका व्यक्ति फेरी दोहोरो नागरिकता लिन आउने प्रवृत्ति पनि देखिएकाले नागरिकता सिफारिस गर्दा थप सजग बन्न सबै वडाहरूलाई आग्रह गरिएको बताउनुभयो । यस्तै, जिल्लाको मन्थली नगरपालिकाले पनि यसबारेमा आफ्ना सबै वडाहरूलाई सचेत गराएको छ । नगरपालिकाभित्र रहेका १४ वटै वडाहरूलाई नागरिकता लगायतका सिफारिस गर्दा सजगता अपनाउन आग्रह गरिएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले बताउनुभयो । गत आइतबार दोहोरो नागरिकता सिफारिस गर्ने रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रीति का वडाध्यक्ष मानबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको थियो ।
नाम तथा जन्म मिति समेत परिवर्तन गरी सो दोहोरो जन्म दर्ता गरेर दोहोरो नागरिकता लिन खोज्ने निर्मला बस्नेतलाई नेपाली नागरिकता प्रमाणपत्रको लागि सिफारिस गरेको आरोपमा सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो । दोहोरो नागरिकता लिन खोज्ने निर्मला बस्नेत, दोहोरो जन्म दर्ता गर्न सूचना दिने उनकी आमा दिलकुमारी बस्नेत र सिफारिस बनाउने वडा सचिव पदमकुमारी बस्नेतलाई पनि पक्राउ गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जानकारी दिनुभयो । प्रहरीले गिरफ्तार गरेका चारै जना विरुद्ध दोहोरो जन्म दर्ता बनाई दोहोरो नागरिकता लिन लागेको कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।