रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा नेपाल स्काउटले अभिमुखीकरण अभियान सुरु गरेको छ । सो अभियान अन्तर्गत पालिकाका माध्यमिक विद्यालयमा विद्यार्थी जीवनमा स्काउटको महत्त्व विषयक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएका गाउँपालिका स्काउट संयोजक राजकुमार मैनालीले जानकारी दिनुभयो । मंगलबार सो गाउँपालिकाको वडा नं २ मानपुरमा रहेको श्री कृष्णवर्णेश्वर माविका विद्यार्थीको लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिका स्तरीय स्काउट संयोजक मैनालीले विद्यार्थीलाई स्काउट र त्यसको महत्त्वको बारेमा अभिमुखीकरण गर्नुभएको थियो । सो विद्यालयमा विद्यालयका प्रधानाध्यापक ङेमा लामाको अध्यक्षतामा सात सदस्यीय विद्यालय स्काउट समिति गठन भएको छ । कार्यक्रममा संयोजक मैनालीले ७० जना विद्यार्थीलाई स्काउट प्रतिज्ञा गराउनु भएको थियो । यस अघि सो गाउँपालिकाको पशुपति मावि हिलेदेवी, डहु मावि वेथान, कुशेश्वर मावि वेथान, सतलिंगेश्वर मावि गुन्सी, कृष्णपुरी मावि रुपाकोट, बाल मावि भिरकोट लगायतका विद्यालयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको मैनालीले जानकारी दिनुभयो । ती विद्यालयहरूमा पनि विद्यालय स्काउट समिति गठन भई स्काउटका विद्यार्थीले विभिन्न रचनात्मक काम सुरु गरेका छन् ।
सुनापति गाउँपालिकामा स्काउटको अभिमुखीकरण अभियान
- प्रकाशित मिति: मंगलबार, साउन ३१ २०७९
- तामाकोशी