रामेछाप । जिल्लाका ४५ हजार भन्दा बढी नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले सरकारले सामाजिक स्वास्थ्य विकास समिति मार्फत ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा ४२ हजार २१४ जना आवद्ध भएका छन् । दुई नगरपालिका र छ वटा गाउँपालिकाको ६४ वडा रहेको जिल्लाका हालसम्म २३ हजार ८४२ महिला र २१ हजार ३६९ पुरुषले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्ड रामेछापका दर्ता अधिकारी नारायण प्रसाद पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा सबैभन्दा बढि मन्थली नगरपालिकाबाट १४ हजार ४७ जना र सबै भन्दा कम उमाकुण्ड गाउँपालिकाबाट दुई हजार ३८८ जनाले स्वास्थ्य बीमा गराएका छन् । जिल्लाको रामेछाप नगरपालिकाबाट पाँच हजार ३९३ जना ,सुनापति गाउँपालिकाबाट नौ हजार ४०३ जना, लिखुतामाकोसी गाउँपालिकाबाट तीन हजार ९२, खाँडादेवी गाउँपालिकाबाट चार हजार १५७ जना नागरिकले स्वास्थ्य बीमा गराएका छन् । त्यस्तै, गोकुलगङ्गा गाउँपालिकाका दुई हजार ९८३ र दोरम्बा सैलुङ गाउँपालिकामा तीन हजार ७४८ जना नागरिकले स्वास्थ्य बीमा गराएको दर्ता अधिकारी पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार हाल सम्म छ ५६५ जना ७० वर्ष कटेका ज्येष्ठ नागरिक, ५१५ जना अशक्त अपाङ्गता भएका र अति गरिबि तथा रातो कार्ड प्राप्त आठ हजार २८ घरपरिवारले स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बीमा गराएका नागरिकहरूले जिल्ला अस्पताल रामेछाप,मन्थली अस्पताल,गेलु र खिम्ती प्राथमिक स्वास्थ्य केन्द्र ,जिल्ला आँखा केन्द्र अस्पताल मन्थली र धुलिखेल अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्नेछन् । स्वास्थ्य विमामा आवद्ध हुनको लागि पाँच जनासम्म सदस्य रहेको परिवारले वार्षिक तीन हजार ५०० सय र पाँच जनाभन्दा माथि सङ्ख्या भएमा प्रति सदस्य सात सय रुपियाँ थप शुल्क तिर्नुपर्छ । रामेछापमा २०७४ सालको पौष अन्तिम साताबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको हो । पाँच जना सम्मको परिवारले वार्षिक एक लाख रुपियाँसम्मको सुविधा पाउँछन् भने थप भएको प्रत्येक सदस्यले वार्षिक २० हजार रुपियाँका दरले सुविधा पाउँछन् ।
रामेछापका ४५ हजार बढी नागरिक स्वास्थ्य बीमाको पहुँचमा
- प्रकाशित मिति: मंगलबार, साउन ३१ २०७९
- तामाकोशी