सङ्घ र प्रदेश निर्वाचनमा परिचालन हुन जनवर्गीय सङ्गठनलाई एमाले रामेछापको निर्देशन

  • प्रकाशित मिति: आइतबार, साउन २९ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछापले आगामी मङ्सिर ४ गते तोकिएको सङ्घ र प्रदेश सदस्य निर्वाचनमा परिचालन हुन जनवर्गीय सङ्गठनहरूलाई निर्देशन दिएको छ । आइतबार मन्थलीमा बसेको नेकपा एमाले जनसंगठन संयन्त्रको दोस्रो बैठकमा एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठले यस्तो निर्देशन दिनुभएको हो । अध्यक्ष श्रेष्ठले स्थानीय तह निर्वाचनमा जनवर्गीय संगठनको पनि केही कमजोरी भएका कारण सोचेजस्तो परिणाम प्राप्त नभएकाले त्यस्ता कमजोरीलाई सच्याएर सशक्त ढङ्गले सङ्घ र प्रदेश निर्वाचनमा होमिन निर्देशन दिनुभयो ।
जनवर्गीय संगठन परिचालन कमिटीका संयोजक समेत रहनुभएका अध्यक्ष श्रेष्ठले केही जनवर्गीय संगठन गठन, केहीको पुनर्गठन र केहीको अधिवेशन गर्न बाँकीरहेका सबै काम आगामी भदौ मसान्तसम्म सक्न आग्रह गर्नुभयो । पार्टीले उठाएका सामाजिक लगायतका मुद्दाहरूलाई सशक्त ढङ्गबाट जनतासामु लैजान आवश्यक छ, यसमा जनवर्गीय सङ्गठनहरूको भूमिका महत्वपूर्ण हुन्छ, त्यसैले यसबारे जनवर्गीय संगठनहरू गम्भीर रुपमा लाग्नुपर्छ उहाँले भन्नुभयो ।
पार्टीले निर्माण गरेको जनवर्गीय सङ्गठनहरूलाई थप क्रियाशील बनाउन जिल्ला पार्टीले दशैँसम्म प्रशिक्षण कार्यक्रम राख्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागि जनवर्गीय सङ्घटनका इन्चार्ज, सहइन्चार्ज तथा अध्यक्षहरूले एमाले रामेछापले गएको स्थानीय तहमा भएको निर्वाचनमा सोचेजस्तो परिणाम नल्याएको भएपनि प्रतिपक्षले सोचेभन्दा धेरै राम्रो परिणाम प्राप्त गरेको बताए । आफूले नेतृत्व गरेको संगठन बारे रिपोर्टिङ गर्दै उनीहरूले स्थानीय तहमा भएका केही कमजोरीहरूलाई सच्याएर आगामी मङ्सिर ४ गते आइतबार तोकिएको सङ्घ र प्रदेश निर्वाचनमा केन्द्रित हुने प्रतिवद्धता समेत जनाएका छन् । पार्टीभत्र केही गुटगत प्रवृत्तिको पनि गन्ध आउन थालेकाले यस्ता कार्य रोक्न नेतृत्व बेलैमा सचेत बन्नुपर्नेमा विभिन्न जनवर्गीय सङ्गठनका इन्चार्ज, सहइन्चार्ज तथा अध्यक्षहरूको जोड थियो । एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा एमाले रामेछापका उपाध्यक्ष ईन्द्रबहादुर तामाङ, सचिव पुरुषोक्तम कडरिया, उपसचिव द्धोय प्रकाशकुमार कार्की र होतराज ढकाल लगायतको सहभागिता रहेको थियो ।