आईटीएफको रजत जयन्तीको अवसरमा प्रेमबहादुर तामाङ सम्मानित

  • प्रकाशित मिति: सोमबार, साउन २३ २०७९
  • तामाकोशी

रामेछाप । नेपाल अन्तर्राष्ट्रिय टेकवान्दो महासंघ (आइटीएफ) ले २५ औँ वार्षिक उत्सवको अवसरमा विभिन्न व्यक्ति र खेलाडीलाई सम्मानित गरेको छ । महासंघले रजत जयन्तीको अवसरमा पोखरामा आयोजना गरेको कार्यक्रममा उहाँहरूलाई सम्मान गरेको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आइटीएफ एकेडेमी निर्माणमा अतुलनीय योगदान गरेको भन्दै रामेछापको खाँडादेवी गाउँपालिकाका पूर्वअध्यक्ष तथा एकेडेमीका संरक्षक प्रेमबहादुर तामाङलाई सम्मानित गरिएको छ ।
त्यस्तै आइटीएफका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटलाई पनि कार्यक्रममा सम्मानित गरिएको छ । कार्यक्रममा वागमती प्रदेशकी रुबीका खड्का र नेपाल आर्मीका दिनेश बुढा मगरलाई वर्षका उत्कृष्ट खेलाडीको सम्मान प्रदान गरियो । मोरङका राजेन्द्र धिमाल वर्षको उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । उहाँहरूलाई नगद १० हजार सहित सम्मानित गरिएको आयोजकले जनाएको छ । नेपाल आइटीएफका पहिलो ब्याजका ब्ल्याक बेल्ट गोपाल श्रेष्ठले आउट स्ट्यान्डीङ अवार्ड पाउनुभयो भने नवलपुर उत्कृष्ट जिल्ला घोषित भयो । काभ्रेका रिक्सन तामाङ राइजिङ स्टार घोषित हुनुभयो । नेपाल आइटीएफका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको व्यवस्थापन गण्डकी प्रदेश आइटीएफ तेक्वान्दो संघले गरेको थियो ।