रामेछाप । जिल्लामा आगामी मङ्सीर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदान स्थल र मतदान केन्द्र थप गर्ने तयारी भएकोे छ । जिल्ला निर्वाचन कार्यालय रामेछापले आगामी मङ्सीर ४ गते आइतबार हुने निर्वाचनका लागि पाँच÷पाँच वटा मतदान स्थल र मतदान केन्द्र थपको लागि निर्वाचन आयोगमा सिफारीस गरेको छ । रामेछापका जिल्ला निर्वाचन अधिकारी मधुकरकुमार शाहले यसअघि कायम रहेको ९२ वटा मतदान स्थल र २२३ मतदान केन्द्रमा पाँच÷पाँच वटा थप गरी ९७ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्र बनाउका लागि निर्वाचन आयोग नेपालमा सिफारीस गरिएको बताउनुभयो ।
आठ वटा मतदान स्थलको नाम संसोधन गर्न, पाँचवटा मतदान केन्द्रलाई फुटाएर दस वटा बनाउँनेगरी र चारवटालाई ठाउँ सार्न निर्वाचन आयोगमा सिफारीस गरेकाछौँ उहाँले भन्नुभयो । उहाँका अनुसार खाँडादेवी गाउँपालिका–१ राकाथुम वडा कार्यालयमा रहेको मतदान स्थललाई राकाथुम माध्यामिक विद्यालय, खाँडादेवी गाउँपालिका–५ पकरबास आधारभूत विद्यालय राम्चेमा रहेको मतदान स्थललाई वडा कार्यालय भवन भिमस्थानमा सार्न सिफारिस गरिएको छ । त्यसैगरी, रामेछाप नगरपालिका–३ साँघुटारको कालिका ईश्वरी आभारभूत विद्यालयमा बाँकीमैरीमा रहेको मतदान स्थललाई वडा कार्यालय भवन साँघुटारमा र रामेछाप नगरपालिका–९ मा भिमसेनस्थान मन्दिरमा रहेको रहेको मतदान स्थललाई भिमेश्वर आधारभूत विद्यालय ल्याङल्याङमा सार्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।
मतदातालाई अपायक पर्ने र ठाउँ अप्ठेरो भएका मतदान स्थलहरुलाई ठाउँ परिवर्तन गर्न सिफासिर गरिएको जिल्ला निर्वाचन अधिकारी शाहले बताउनुभयो । अहिले निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलनको काम रोकेर अध्यावधिकको काम गर्ने तयारी भैरहेको उहाँले बताउनुभयो । गएको वैशाख ३० गते सम्पन्न पालिका निर्वाचनमा रामेछापमा कूल एक लाख ७८ हजार ८६७ जना मतदाता कायम भएकोमा एक लाख १७ हजार २४२ जनाले मतदान गरेका थिए ।
रामेछापमा मतदान स्थल र केन्द्र थप गर्ने तयारी
- प्रकाशित मिति: आइतबार, साउन २२ २०७९
- तामाकोशी