रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली माध्यामिक विद्यालयका एक शिक्षकले छात्रालाई दुव्र्यवहार गरेको आरोप लगाउँदै विद्यार्थीहरू त्यसको विरोधमा आन्दोलित भएका छन् । मन्थली माविको सीटीईभीटीमा विज्ञान विषय अध्यापन गर्ने शिक्षक लोकबहादुर विष्टले सो विद्यालयमा अध्ययनरत एक छात्रालाई दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरूले आन्दोलित भएका हुन् । दोषी शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीले शुक्रबार विद्यालयमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले कक्षा कोठाका केही डेक्स बेञ्च समेत तोडफोड गरेका छन् । विद्यालय समयमा विद्यालय परिसर भित्रै ती शिक्षकले बिहीबार तीन वर्षे सब-ओभरसियरको प्रथम वर्षमा अध्ययनरत छात्रलाई गलत नियतले हातपात गरेको विद्यार्थीको आरोप छ । ती शिक्षकले यस अघि पनि सामाजिक सञ्जाल मार्फत विद्यार्थीलाई गाली गलौच र दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विद्यालय प्रशासनमा उजुरी गरेपछि पीडित पक्ष, विद्यार्थी संगठन समेतलाई राखी गराइएको छलफलमा शिक्षकले गल्ती स्विकारेका थिए । उनले गल्ती स्विकारेपछि पीडित छात्राका अभिभावकले एक पल्टलाई भन्दै माफी दिएका थिए । उनै शिक्षकबाट फेरी घटना दोहोरिएपछि विद्यार्थी आन्दोलित भएका हुन् । ती शिक्षकलाई विद्यालयबाट हटाउनु पर्ने माग विद्यार्थीको रहेको छ । अब उनलाई दोहोर्याएर माफी दिन नसकिने अनेरास्ववियु रामेछापका सचिव पुष्कर भट्टराईले बताउनुभयो । विद्यार्थीहरु आन्दोलित भएपछि शिक्षक विष्ट फरार भएका छन् । करार सेवामा नियुक्ति पाएका ती शिक्षकको गतिविधिको बारेमा थाहा पाउनसाथ आफूले फोन गर्दा फोन नउठाएको र उनी बस्ने कोठा समेत ताल लगाएको अवस्थामा रहेको विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले बताउनुभयो । उनको खोजीको लागि प्रहरीलाई विद्यालयले अनुरोध गरिसकेको उहाँले बताउनुभयो । उनले विद्यालयमा पढाउने नैतिक हैसियत गुमाइ सकेको उहाँले बताउनुभयो । उनलाई खोजी गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने तर्फ विद्यालय लागि सकेको उहाँले जानकारी दिनुभयो । सो विषयलाई लिएर आइतबार विद्यालय व्यवस्थापन समिति बैठक बोलाइएको उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समिति बैठकमा विद्यालय प्रशासनको तर्फबाट उनलाई निष्कासन गर्ने प्रस्ताव आफूले लैजाने दाहालले बताउनुभयो ।
शिक्षकले छात्रालाई दुव्र्यवहार गरेको भन्दै मन्थली माविका विद्यार्थी आन्दोलित
- प्रकाशित मिति: शुक्रबार, साउन २० २०७९
- तामाकोशी