सेलेघाट–रामेछाप–साँघुटार सडक कन्तबिजोक : नागरिकलाई पालिका पुग्न समस्या

  • प्रकाशित मिति: शुक्रबार, साउन २० २०७९
  • तामाकोशी

रामेछाप । जिल्लाको सेलेघाट–रामेछाप–साँघुटार सडक विगत डेढ वर्षभन्दा बढी समयदेखि कन्तबिजोक अवस्थामा छ । जसका कारण रामेछाप नगरपालिकाको अधिकांस वडाका नागरिकलाई पालिका, सदरमुकाम मन्थली र राजधानी काठमाडौं आवतजावत गर्न कठिन भएको छ । भारतिय एक्जिम बैङकको सहयोगमा डेढ वर्षदेखि कालोपत्रेका लागि सडक विस्तार सुरु गरिएको यो सडकमा निर्माण ब्यवसायीको लापरबाहीले सर्बसाधारणको यात्रा कष्टकर बनेको छ । लामो समयदेखि सडक भद्रगोल बन्दा पनि सरोकारवा निकायले ध्यान नदिएको रामेछाप नगरपालिका–२ देउरालीका बिबि तामाङले गुनासो गर्नुभयो ।
वषौँदेखि सडक भद्रगोल बनेको छ, निर्माणको काममा निरन्तरता छैन, सदरमुकाम मन्थली र राजधानी काठमाडौं लगायतका ठाउँमा आवतजावत गर्दा ज्यान जोखिममा राख्नुपर्छ उहाँले भन्नुभयो । रामेछाप नगरपालिका–३ साँघुटारका रविन खत्री निर्माण व्यवसायीले हिउँदमा आलटाल र वर्षामा मनलाग्दी ढङ्गले काम गर्दा सडक कन्तबिजोक बनेको बताउनुहुन्छ । सरकारको नीति पनि यही हो की के हो ? ठेकेदारले आफ्नो खुसी गर्दा पनि केही भन्दैन, ठेकेदारले हिउँदभरी आलटालमै समय कटाउछ, असार साउनमा काम गरेजस्तै गर्छ, जताबाट पनि दुःख पाउने सर्वसाधारणले हो उहाँले भन्नुभयो ।

 



सेलेघाट–रामेछाप–साँघुटार सडकमा यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउन सक्ने अवस्था नरहेको मन्थली नगरपालिका–११ का सवारी चालक प्रविन मगरले बताउनुभयो । वर्षामा खनिएको सडकमा बस चलाउन सक्ने अवस्था छैन, मन्थलीबाट साँघुटार हिँडेका पेसेन्जर बिचबाटो बाटै फर्किए, अब यो बाटोमा बस ल्याउनदिन उहाँले भन्नुभयो । काठमाडौँदेखि रामेछाप सदरमुकाम मन्थली हुँदै ओखलढुङ्गाको घोराखोरीसम्मका नागरिक आवजावत गर्ने सडक बिजोग बन्दा पनि कसैको ध्यान नगएको उहाँको गुनासो छ । भारतिय टिसिआइएल नामक कम्पनी मार्फत भरत कन्ट्रक्सन र सिद्धसाही कन्ट्रक्सन नामक निर्माण कम्पनीले विगत डेढ वर्षदेखि सेलेघाट–रामेछाप–साँघुटार सडक कालोपत्रका लागि काम गरिरहेको छ । सडमा भएका मनलाग्दी कामले यातायातका साधन सञ्चालनमा समस्या मात्रै भएको छैन ठाउँठाउँका बस्तीहरु र विद्यालय समेत जोखिममा परेका छन् । निर्माण कम्पनीलाई यथासिघ्र बाटो सम्पन्न गर्न नगरपालिकाले ताकेता गरिरहेको रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताउनुभयो । निर्माण व्यवसायीसँग दुई तीन चरणमा नगरपालिकाले छलफल गरेको छ, छिटो भन्दा छिटो बटो निर्माण गर्न र निर्माण सम्पन्न नभएसम्म नागरिकलाई आवतजावत सहजताका लागि सडक सफा लगायतका आवश्यक कार्य गर्न भनेका छौँ उहाँले भन्नुभयो ।