रामेछाप । रामेछाप काँग्रेसको आन्तरिक विवादको कारण पार्टी उपसभापति लगायतको जिम्मेवारी खोसिएको छ । जिल्ला कार्यसमिति रामेछापको बैठकले पार्टी उपसभापति नवराज थोकरको जिम्मेवारी खोसेको छ । त्यस्तै कार्यसमिति सदस्य कमलप्रकाश सुनुवारको जिम्मेवारी पनि खोसिएको छ । उपसभापति थोकरलाई दिइएको जिल्ला प्रशिक्षण समिति संयोजकको जिम्मेवारी खोसिएको छ । उहाँको जिम्मेवारी खोसेर अर्का उपसभापति लेखबहादुर कार्कीलाई सो जिम्मेवारी प्रदान गरेको छ । सुनुवारलाई दिइएको अनुशासन समिति संयोजकको जिम्मवारी पनि खोसिएको छ । सो जिम्मेवारी केशरबहादुर मगरलाई दिइएको छ । बैठकले यस अघि गठन गरेको जिल्ला कार्य सम्पादन समिति पनि भङग गरी नारायणबहादुर बोगटीको संयोजकत्वमा नयाँ समिति बनाएको छ । काँग्रेस रामेछाप अहिले आन्तरिक विवादमा परेको छ । पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) पार्टी नीति विपरीत नेता कार्यकर्तालाई अपमान गर्ने हिसाबले अघि बढेको भन्दै पार्टी उपसभापति नवराज थोकर लगायतका पदाधिकारी र सदस्य, पूर्व पदाधिकारी लगायतले सभापतिको राजीनामा माग गर्दै आउनुभएको छ । उहाँहरूले सभापतिलाई बरखास्त गर्न पार्टी केन्द्रीय कार्यालयमा उजुरी समेत दिनुभएको छ । तर पार्टी सभापतिले मनलाग्दी र एकलौटी निर्णय गर्दै पार्टीलाई नै समाप्त पार्न खोजेको अर्को पक्षको आरोप छ । पार्टी सभापति तामाङले जिम्मेवारी पूरा नगरेको तथा पार्टीको बैठकमा पटक पटक अनुपस्थित भएको कारण जिम्मेवारी खोसिएको बताउनुभयो । यता जिम्मेवारी खोसिएपछि रामेछाप काँग्रेसका उपसभापति नवराज थोकरले पार्टी नेतृत्वले समर्थक र आलोचक दुबै लाई एकीकृत गर्ने सामथ्र्य राख्नुपर्नेमा वर्तमान नेतृत्व त्यस्तो नभएको बताउनुभएको छ । समर्थकको वरिपरि रमाउने नेतृत्व पार्टी र संगठनका निम्ती घातक सावित हुने उहाँको भनाइ छ । निरंकुश प्रवृत्तिको आयु छोटो हुने इतिहासमा प्रष्ट रहेको उपसभापति थोकरको भनाइ छ । सभापति तामाङले पार्टीलाई कम्पनी जसरी सञ्चालन गर्न खोजेको उपसभापति थोकरको आरोप छ । उपसभापति थोकरले फेसबुकमा लेख्नुभएको छ प्रा.ली र पार्टी सञ्चालन गर्ने विषय आकाश र जमिन बीचको भिन्नता जस्तै छ । प्रालि तपाईको इच्छा आकांक्षा बमोजिम चल्छ त्यहीँ अनुरुप पार्टी चल्न सक्दैन । प्रालि तपाईंको एकल स्वामित्व भएकोले तपाईले जे गर्दा पनि भयो पार्टी एकल स्वामित्वमा रहेको निजी सम्पत्ति होइन । पार्टीले सिद्धान्त,विचार ,सगंठनसाथै करोडौं जनताको सपनाहरु बोकेको हुन्छ। त्यसकारण इतिहासमा प्रष्टनै छ निरंकुश प्रवृत्तिको आयु छोटो नै हुनेगर्छ । पार्टी नेतृत्वले समर्थक र आलोचक दुबै लाई एकीकृत गर्ने सामर्थ्य राख्नुपर्छ । समर्थकको वरिपरि रमाउने नेतृत्व पार्टी र संगठन निमित्त घातक सावित हुनेछ।
