रामेछाप । नेकपा एमाले रामेछापले जिल्ला स्तरीय संगठन सृदृढीकरण तथा शुद्धीकरण प्रशिक्षण कार्यक्रममा सञ्चालन गरेको छ । एमाले रामेछापले मंगलबार जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, सल्लाहकार परिषदका सदस्यहरु, नगर तथा गाउँ कमिटी पदाधिकारीहरु, वडा कमिटीका अध्यक्ष, निर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु, जनवर्गीय संगठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला पदाधिकारीहरुलाई प्रशिक्षण दिएको हो।एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पार्टी स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, सहइन्चार्ज शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेल, केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कैलाशप्रसाद ढुङ्गेल र केन्द्रीय सदस्य एवं अनेरास्ववियुका इन्चार्ज माधव ढुङ्गेल लगायतले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले दसतिर फर्किएका पार्टीहरु मिलेर बनेको अपवित्र गठबन्धन निरन्तर एमालेका विरुद्धमा रहेको बताउनुभयो ।
राम्रो काम गरिरहेको एमालेलाई सरकारबाट हटाउन सङुघीयता नचाहने, प्रदेश बढाइनुपर्छ, संसदीय व्यवस्था स्वीकार छैन भन्ने र संसदीय व्यवस्थाको विकल्पै छैन भन्ने पार्टीको अपवित्र गठबन्धन बनेको र यो गठबन्धन निरन्तर एमालेको विरुद्धमा रहेको उहाँको भनाइ छ सङ्घीयता खारेजीको माग गर्ने राष्ट्रिय जनामोर्चा, १४ वटा प्रदेश बनाउनुपर्छ भन्ने जनता समाजवादी पार्टी यही गठबन्धनमा छन्, संसदीय व्यवस्थालाई स्वीकार गरिएको छैन भन्ने प्रचण्ड र संसदीय व्यवस्थाको विकल्प छैन भन्ने काँग्रेस एकैठाउँमा छन्, दसतिर फर्किएका पार्टीहरुलाई एक ठाउँमा ल्याउन कुन काँटा किलाले जोडिदियो उहाँले भन्नुभयो ।
गठबन्धन मात्रै नभै अदालत, बिदेशी शक्तिकेन्द्र र अरु विभिन्न संवैधानिक अङ्गहरु समेत एमालेको विरुद्धमा रहेको उहाँले बताउनुभयो । एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले नेकपा एमाले प्रवेशको सिलसिला निरन्तर रहेको र जारी रहने बताउनुभयो । नेता अधिकारीले नेपालमा एमाले भन्दा राम्रो पार्टी अरू कुनै नभएकोले एमाले प्रतिको आकर्षण यथावत् रहेको बताउनुभयो । अधिकारीले कांग्रेस र माओवादी विचार नै नभएका पार्टी भएको प्रष्ट पार्नुभयो । अन्य पार्टी अस्तित्व नै जोगाउन नसक्ने अवस्थामा पुगिसकेका उहाँले टिप्पणी गर्नुभयो । जनताको बहुदलीय जनवाद मौलिक कम्युनिष्ट विचार भएको उहाँले बताउनुभयो । जनताको बहुदलीय जनवादबाट एमाले मात्र होइन देश नै निर्देशित भएको उहाँको भनाइ छ ।
एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले कम्युनिष्ट आन्दोलनमा लागेर के प्राप्त गरियो भन्ने कुरा जनतालाई बुझाउन सक्नु पर्ने बताउनुभयो । नेता पोखरेलले अहिले एमाले कार्यकर्तामा पार्टीमा लागेर के पाएँ र भन्ने निराशा देखिएको बताउनुभयो । एमालेमा लागेकै कारण गणतन्त्रदेखि, राजनीतिक र नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान लगायतका उपलब्धि प्राप्त भएको बताउनुभयो । नेपालको राष्ट्रियता र सार्वभौमसत्ता माथि २००७ सालदेखि २०१२ सालका बिचमा बढी हस्तक्षेप भएको उहाँले बताउनुभयो ।
एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले विगतको निर्वाचनमा समयमा उम्मेदवार छान्न नसक्दा सोचे अनुसारको परिणाम आउन नसकेको बताउनुभयो । नेता तामाङले अबका चुनावमा एमालेले समयमा नै उम्मेदवार घोषणा गरेर जाने बताउनुभयो । गएको स्थानीय चुनावमा एमाले मात्रै एक्लै चुनाव लडेको उहाँले बताउनुभयो । गठबन्धनका दल एक्लै चुनाव लडेको ठाउँमा पनि एमालेलाई हराउन अन्य दललाई भोट हालेका उहाँले उदाहरण प्रस्तुत गर्नुभयो ।
एमाले केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलले विकासलाई राजनीतिसँग नजोड्दा गएको स्थानीय तह निर्वाचनमा एमालेले केही ठाउँमा पराजय भोग्नु परेको बताउनुभयो । नेता ढुङ्गेलले पार्टीले गरेको काम जनताको बिचमा पु¥याउन नसक्दा पार्टीले चुनाव हारेको बताउनुभयो । केन्द्रीय सदस्य माधव ढुङ्गेलले पार्टी संगठन सिक्ने र सिकाउने थलो भएको बताउनुभएको छ । नेता ढुङ्गेलले पार्टीको बिचार जनताको बिचमा लैजाने दायित्व पार्टीका नेता कार्यकर्ताको भएको बताउनुभयो । उहाँले पार्टी विचारले जन्माउने बताउनुभयो । विचारले समाज बदलिनु पर्नेमा उहाँले जोड दिनुभयो ।







