रामेछाप प्रहरीको गाँजा फाँड्ने अभियान : ४४ सय बोट गाँजा नष्ट

  • प्रकाशित मिति: सोमबार, साउन १६ २०७९
  • तामाकोशी

रामेछाप । रामेछाप प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेको ४ हजार ४ सय बोट गाँजा फाँडेर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापको निर्देशनमा इलाका प्रहरी कार्यालय खाँडादेवीले सो इलाका अन्तर्गतको जिम्मेवार क्षेत्रमा लगाइएको र आफैँ उम्रिएका गाँजाका बोट फाँडेर नष्ट गरेको छ । सो इलाका प्रहरी कार्यालय अन्तर्गत खाँडादेवी गाउँपालिकाको चोप्राङ, गोगनपानी, खत्रीटोल, रायगाउँ, साहुटोल, धारापानी, चुल्ठेपानी, चारघरे चरी, राकाथुम, चपाडी लगायतका क्षेत्रमा गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । यसैगरी सुनापति गाउँपालिकाको खनियापानी, भिरकोट, रुपाकोट, बेथान, पानीट्याङ्की लगायतका स्थानमा पनि गाँजा फाँडिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय खाँडादेवी, इलाका प्रहरी कार्यालय बेथान, प्रहरी चौकी लुभुघाट, प्रहरी चौकी बेथान सित्खा, अस्थायी प्रहरी चौकी गाल्पा, अस्थायी प्रहरी चौकी साँदीडाँडाबाट खटिएको प्रहरीले गाँजा नष्ट गरेको हो । प्रहरी निरीक्षक तेजप्रसाद कँडेलको नेतृत्वमा ३० जनाको प्रहरी टोली सो काममा खटिएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार हालसम्म जिल्लाका विभिन्न स्थानमा ४ हजार ४ सय बढी बोट गाँजा नष्ट गरिएको छ ।