७ वर्षदेखि विद्यालय भवन अलपत्र

  • प्रकाशित मिति: शनिबार, साउन १४ २०७९
  • तामाकोशी

रामेछाप । स्थानीय सरकार लगायत सरोकारवाला निकायले ध्यान नदिँदा रामेछाप नगरपालिकाको एक विद्यालय बिगत सात वर्षदेखि अलपत्र अवस्थामा छ । नगरपालिका तथा सरोकारवाला निकायले ब्यवास्ता गर्दा रामेछाप नगरपालिका–३ साँघुटार बाँकीमैरीमा सात वर्षअघि निर्माण सुरु भएको श्री कालिका ईश्वरी आधारभूत विद्यायलको भवन अलपत्र बनेको हो । सात वर्षअघि निर्माण सुरु भएको विद्यालय भवन नबन्दा बालबालिकाहरु भूकम्पले भत्कीएको ट्रसमा पढ्न बाध्य भएको स्थानीय अभिभावक हरिबहादुर प्रधानले बताउनुभयो । उहाँका अनुसार यो विद्यालय भवन निर्माणका लागि अहिलेसम्म भूकम्पपछिको पुननिर्माणका लागि नेपाल सरकारले उपलब्ध गराएको ३६ लाख, वडा कार्यालयको दुई पटक गरी दश लाख र स्थानीय रमेश प्रधानले सहयोग स्वरुप प्रदान गरेको ५० हजार रुपियाँ गरी ४६ लाख ५० हजार रुपियाँ भन्दा बढी खर्च भैसकेको छ ।
यति धेरै रकम खर्च भैसकक्दा पनि भवनको दुई तला ढलान गर्ने र तल्लो तला वरीपरीको गरो लगाउने बाहेक काम भएको छैन, अक्षर चिन्न सुरु गरेको विद्यालय लामो समयदेखि खलपत्र बन्दा धेरै दुःख लाग्छ उहाँले भन्नुभयो । रकम अभावमा विद्यालय भवन निर्माणको काम पूरा गर्न नसकिएको विद्यायल व्यवस्थापन समितिका अध्यक्ष पदमकुमार प्रधानले बताउनुभयो । अधुरो विद्यालय भवन पूरा गर्न आवश्यक बजेटको व्यवस्थापन गरिदिन वडा तथा नगरपालिकामा आग्रह गरे, तर कसैले वास्ता गरेनन्, बजेट माग गरिएको निवेदन सबैले टोकरीमा फालिदिए उहाँले भन्नुभयो । बजेट अभावकै कारण सात वर्षदेखि अलपत्र परेको विद्यालय भवन पूरा गर्न आवश्यक बजेटको व्यवस्थापन गरिदिन यो वर्ष पनि वडा तथा नगरपालिकालाई आग्रह गरिएको उहाँले बताउनुभयो ।
बजेट अभावका कारण निर्माण सुरु गरिएको विद्यालय भवन पूर्ण हुन नसकेको भन्ने आफुलाई जानकारी आएको रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताउनुभयो । वास्तबमा कुनै पनि योजना निर्माण गर्नुपूर्व त्यसको निर्माण पूरा हुनेगरी श्रोत सुनिश्चितता हुनुपर्ने हो, यो विद्यालय निर्माणमा त्यो देखिएन, धेरै अगाडीको कुरात मलाई जनाकारी छैन, अर्थिक वर्ष २०७७÷०७८ मा वडा कार्यालयबाट ७ लाख रुपियाँ बजेट विनियोजना भएको र काम भएको छ उहाँले भन्नुभयो ।
यो विद्यालय भवन सम्पन्न गर्नका लागि वडाले चासो नदिएको उहाँको भनाई छ । अर्थिक वर्ष २०७७÷०७८ मा वडाले बजेट दिएपछि फेरी अन्य आर्थिक वर्षमा पनि निरन्तरता सहितको नगरपालिकालाई जानकारी गराउनुपर्ने हो, वडाले त्यसो गरेको देखिएन, यसमा वडाको पनि कमजोरी देखियो उहाँले भन्नुभयो । यो वर्ष वडा कार्यालयले प्राथमिकतामा पारेर ल्याएको खण्डमा नगरपालिकाले भवन पूर्ण गर्नका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।