रामेछाप । रामेछापका उमाकुण्ड गाउँपालिकाको निर्माणाधीन मध्यमार्गी सडक निर्माणको क्रममा गाउँपालिका अध्यक्षलाई आर्थिक अनियमितताको आरोप लागेको छ । सो सडक निर्माणको क्रममा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले १० लाख रुपैँया माग गरेको आरोप लागेपछि अध्यक्ष सुनुवारले सो कुरा प्रमाणित गर्न चुनौती दिनुभएको छ । गाउँपालिका अध्यक्ष सुनुवारले विज्ञप्ति निकालेर आफूलाई गलत आरोप लगाएको भन्दै त्यसको विरुद्ध कानुनी उपचारमा जाने बताउनुभएको छ । सो सडक निर्माणको जिम्मा लिएको मोतिदन कन्ट्रक्सनले रकम भुक्तानी लिन गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारलाई १० लाख रुपैँया घुस दिएको भन्दै सामाजिक सञ्जालमा आएपछि सुनुवारले विज्ञप्ति जारी गरी आफूले कुनै पनि कम्पनीसँग आर्थिक लेनदेन नगरेको बताउनुभएको छ । लान्छाना लागेको विषयमा कानुनी उपचारको लागि जाने र यस क्रममा आर्थिक लेनदेन गरेको पुष्टि भए जस्तो सुकै सजाय भोग्न तयार रहेको सुनुवारले बताउनुभएको छ ।
सो सडक निर्माण गर्न जिम्मा लिएको निर्माण कम्पनीले समयमा तोकिएको काम नगरी गाउँपालिकासँग रकम भुक्तानी गर्न माग गरेको थियो । तर गाउँपालिका अध्यक्षले तोकिएको काम सम्पन्न गरी भुक्तानी लिन आग्रह गर्नुभएको थियो । यसै बिच कम्पनीले काम लगाएका स्थानीय कामदारलाई एक वर्ष अघि देखिको भुक्तानी नदिएको भनि गाउँपालिकामा उजुर गरेका थिए । स्थानीय कामदारले गाउँपालिका अध्यक्षलाई बारम्बार भेटेर आफूहरूले श्रम गरेको रकम भुक्तानीको व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए । श्रमिकहरूले गाउँपालिकाले निर्माण व्यवसायीलाई चेक भुक्तानी गर्ने बेला आफूहरूलाई पनि खबर गर्न अनुरोध गरेका थिए । समयमा तोकिएको काम सम्पन्न नगरी कामदारको समेत रकम भुक्तानी नगरी रकम लिन खोजेको कारण गाउँपालिका अध्यक्षले चेक भुक्तानी दिन रोक्नु भएको थियो । सो विषयलाई लिएर निर्माण व्यवसायीका प्रतिनिधिले गाउँपालिका अध्यक्षसँग बारम्बार विवाद गर्दै आएका थिए । तोकिएको समयमा तोके अनुसारको काम नगर्ने र कामदारलाई समेत भुक्तानी नदिने निर्माण व्यवसायीले आफ्नो कमजोरी छोप्न र रकम भुक्तानी लिन गाउँपालिका अध्यक्षले अतिरिक्त रकम मागेको हल्ला फिँजाएको बताइएको छ । गाउँपालिका अध्यक्ष सुनुवारले आफू निष्ठाको राजनीति गर्ने व्यक्ति भएको बताउँदै यस्ता कुप्रचारबाट कत्ति पनि विचलित नभई निरन्तर जनताको सेवामा लागि रहने बताउनुभएको छ ।