रामेछापमा एक वर्षमा २४ वटा यौनजन्य अपराध

  • प्रकाशित मिति: आइतबार, साउन १ २०७९
  • तामाकोशी

रामेछाप । जिल्लामा एक वर्षको अवधिमा २४ वटा यौनजन्य अपराधका घटना भएका छन् । गत आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाका विभिन्न स्थानीय तहबाट २४ वटा यौनजन्य अपराधका घटना जिल्ला प्रहरी कार्यालय रामेछापमा दर्ता भएका छन् ।
गत वर्ष सबै भन्दा बढी मन्थली नगरपालिकामा सात वटा यौनजन्य अपराधका घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले बताउनुभयो । उहाँका अनुसार जिल्लाको गोकुलगङ्गा गाउँपालिकामा चार वटा, रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका र दोरम्बा सैलुङ गाउँपालिकामा तीन÷तीन वटा यौनजन्य घटना भएका छन् ।
त्यसैगरी खाँडादेवी गाउँपालिका, लिखुतामाकोसी गाउँपालिका र सुनापति गाउँपालिकामा एक वर्षको अवधिमा दुई÷दुई वटा यौनजन्य अपराधका घटना भएका छन् । प्रहरी नायव उपरीक्षक थिङले यौनजन्य अपराधका घटनामा पाँच देखी ६१ वर्षसम्मका महिलाहरु पीडित बनेको र यस्ता घटनामा ११ बर्षदेखि ६१ वर्षसम्मका व्यक्ति संलग्न रहेको बताउनुभयो ।
प्रहरी प्रमुख थिङका अनुसार जिल्लामा भएका एक वर्षभरीका यौनजन्य घटनालाई हेर्दा धेरेजसो घटना छिमेकी, चिनजान र आफ्नै नाता पर्ने दाजुभाइबाट भएका छन् । गत वर्ष भएका यौनजन्य घटनालाई हेर्दा धेरै छिमेकी, आफन्त र आफ्नै दाजुभाइ पीडक छन्, यो अवधिमा छिमेकीबाट आठ, चिनजानका मानिसबाट चार, दाजुभाइबाट तीन, भतिजाबाट एक, प्रेमीबाट चार, साथिबाट एक, शिक्षकबाट एक र नचिनेकाबाट दुई वटा घटना भएको देखिन्छ उहाँले भन्नभयो ।
प्रहरीका अनुसार रामेछाप जिल्लामा आर्थिक वर्ष २०७७÷०७८ मा २५ वटा र आर्थिक वर्ष २०७६÷०७७ मा २५ वटा यौनजन्य अपराधका घटना भएका थिए ।