मानवअधिकार सवाल र सरोकारवालाको भूमिका बारे अन्तरक्रिया

  • प्रकाशित मिति: शनिबार, असार ३२ २०७९
  • तामाकोशी

रामेछाप । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) रामेछापले मानवअधिकार सवाल र सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) को २३ औँ स्थापना दिवसका अवसरमा शनिबार सदरमुकाम मन्थलीमा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले अहिले मानवअधिकारका नाममा बुहुसङ्ख्यक मानिसको समस्या भन्दा केही व्यक्ति तथा समुहको समस्यालाई लिएर हिड्दा समस्या भएको बताउनुभयो ।
मानवअकिारकर्मीहरु नै केही व्यक्ति तथा समुहको स्वार्थ तथा समस्यालाई मात्रै बोकेर अगाडी बढ्दा राजनीतिक व्यवस्था परिवर्तन भएपनि मानिसको चिन्तन मनन्मा परिवर्तन नहुदा समस्या भएको उहाँको भनाई छ । मानिसले आफ्नो अधिकार खोज्दा आफ्नो कर्तव्य पनि भुल्न नहुने उहाँको भनाइ छ । एमाले बागमती प्रदेश कमिटीका सदस्य तथा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले अधिकार खोज्दै गर्दा सबैले कर्तव्य पनि पुरा गर्ने हो भने कसैको अधिकार कोहीबाट हनन् नहुने बताउनुभयो । नागरिकको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई सुनिश्चित गर्नका लागि नगरपालिकाका सबै जनप्रतिनिधि एक मत भएर लागेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटीकी सदस्य दीपशिखा दाहाल, गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन श्रेष्ठ, मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाई, प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठले नागरिकको मानवअधिकारको रक्षाका लागि स्थानीय सरकार थप जिम्मेवार बन्नुपर्ने बताउनुभयो । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) रामेछापका अध्यक्ष थिरबहादुर थापा (रबिन) को अध्यक्षता र एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा मानवअधिकार एलाइन्सका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज रत्नप्रसाद कडेंलले नेपालमा राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स)को स्थापना र इतिहासका बारेमा जानकारी गराउनुभएको थियो ।